दाङको घोरदौरामा निर्माणाधीन नाँच घर भत्किएको छ ।एक करोडभन्दा बढीको लागतमा निर्माणाधीन खुल्ला नाचघर बर्खा थेग्न नसकेर भत्किएको हो ।सदरमुकाम घोराहीदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको घोरदौरा गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न भन्दै दुई कोठे नाचघर बनाउन लागिएको हो । तर, निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा नाँचघरका धेरै भागहरु भत्किएका छन् ।
अविरल वर्षाले दर्शकदीर्घा बस्ने ठाउँ, शौचालय लगायतका संरचना भत्किएका छन् ।घोराही उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. १८ का अध्यक्ष भरत अर्यालले नाचघर भत्किएको जानकारी आफूलाई आएको बताए ।
‘निर्माणको क्रममै रहेको बेला शनिबार परेको झरीले शौचालयको भाग भत्किएको घोराही उपमहानगरका प्रवक्ता भरत अर्यालले बताए । प्रवक्ता अर्यालले प्राविधिकलाई जाँचबुझ गर्न खटाउने समेत बताए ।
वन कार्यालयको प्राविधिक सहयोगमा निर्माण थालिएको सो नाचघर ठेकदारले घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्न बाँकी छ ।नाँच घरको लागत अनुसारको संरचना नबनेको भन्दै प्रश्न उठेको थियो ।घोरदौराबाट हिमश्रृंखलासमेत देखिने भएकाले त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सोचअनुसार नाचघर बनाउन थालिएको हो । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले १ करोड बजेट दिएको थियो । दोस्रोपटक पनि थप ६० लाख बजेट छुट्याइएको थियो।
नाचघर बनाउन भिरालो जमिनलाई डोजर प्रयोग गरेर मैदान बनाइएको थियो । नजिकै रहेको खाल्डोलाई जमिनको सतहसँग बराबर गर्नका लागि पर्खाल निर्माण गरिएको थियो । स्टेजमा ओतका लागि टिनको छानो र दर्शकदीर्घाका लागि ढुंगाको पेटी बनाइएको थियो । तर, निर्माणचरण मै नाँचघर विवादित बन्दै आएको थियो ।
Leave a Reply