उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा आजबाट नियमित सेवा सुरु

 ग्लोबल टिभि      मङ्लबार, असार ८, २०७८      0

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुमा आजबाट नियमित सेवा शुरु भएका छन् । कोरोना महामारीको कारण यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट नियमितरुपमा सेवा सन्चालनमा हुन लागेको हो । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका तीनै स्थानीय प्रशासनले सेवा दिने भएका हुन् ।

कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाका अनुसार जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सेवाग्राही उपस्थित हुन सक्नेछन् ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार मंगलबारबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ ।

त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका सबै सरकारी एवं सार्वजनिक निकायलाई मंगलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

ललितपुर महानगरवासीले आइतबार, सोमबार र मंगलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने छन् ।

गोदावरी र महालक्ष्मीनगर पालिकामा बसोबास गर्नेहरुले बिहीबार र शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाउने व्यवस्था मिलाइएको छ । अन्य गाउँपालिकाहरुलाई भने बुधबार सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल ललितपुरले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा बार छुट्याएर पालिकाहरुलाई नियमित सेवा प्रदान गर्न सहजीकरण गरिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा थप खुकुलो बनाउँदै लगेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *