नेपाल मेडिकल कलेज शेयर विवाद : अर्बौँको शेयरमा डा. भोला रिजालको एकलौटी (भिडियोसहित)

 ग्लोवल टि.भी.      शुक्रबार, असार ११, २०७८      0

डा. भोला रिजाल, मुलुककै कहलिएका स्त्रीरोग विशेषज्ञ हुन् । यिनै डा. रिजालले नेतृत्व गरेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा भाँडभैलो मच्चिएको छ । भाँडभैलो मच्चिनुको भित्री कारण हो, शेयर बिक्री प्रकरण ।

काठमाडौँको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शेयर खरिद बिक्रीमा विवादमा उनै लब्ध डाक्टर रिजालले एकलौटी निर्णय गरेपछि विवाद सतहमै आएको हो । उनको एकलौटी निर्णयबाट शेयर बिक्री गरिएपछि सञ्चालक समितिभित्रै हानाथापको अवस्था छ ।

डा. रिजालको एकलौटी निर्णयको आधारमा गत हप्ता नेपाल मेडिकल कलेज (एनएमसी) खरिद–बिक्रीको सम्झौता भएको छ । शेयर बिक्री सम्झौता बाहिरिएपछि यतिबेला शेयर होल्डरबीच भाँडभैलो भएको छ । डा. रिजालको एकलौटी निर्णयबाट वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले मौकामा चौका हानेपछि कलेज शेयरमा लफडा भएको हो ।

डा. रिजालकै कारण अन्सारीले ४९ प्रतिशत शेयर एकाएक हात पार्ने भएका छन् । डा. रिजाल र मेडिकल व्यापारी अन्सारीबीचको शेयर खरिद बिक्रीले नेपाल मेडिकल कलेजका सञ्चालकबीचको झगडा बाहिरिएको हो ।

कलेजमा भाँडभैलो कसरी भयो ?

१० जना बोर्ड सदस्य रहेको एनएमसीका अध्यक्ष डा. भोला रिजाल हुन् । बोर्डमा डा. आनन्दप्रसाद श्रेष्ठ , डा. ध्रुव शर्मा मुडभरी, डा. मनोहरलाल श्रेष्ठ, डा. श्यामप्रसाद भट्टराई, गिसुप निखा प्रसिको, डा. सुनिलकुमार शर्मा, डा. राजेशकिशोर श्रेष्ठ, इन्जिनियर योगेश्वर कृष्ण पराजुली र डा. श्याम उपाध्याय रहेका छन् ।

५० जना शेयर सदस्य रहेको मेडिकल कलेजमा बोर्ड बैठक र साधारणसभाबाट शेयरको टुंगो लगाउनुपर्ने हो । तर, बोर्ड र सभालाई बेवास्ता गरेर डा. रिजालले अन्सारीलाई शेयर बिक्री गर्ने भएपछि कलेजभित्र भाँडभैलो मच्चिएको हो । यसरी शेयर बिक्री गर्नु नै थियो भने डा. रिजलाले शेयर सदस्यसँग सल्लाह गर्नुपर्ने थियो । तर, उनले सदस्यसँग कुनै छलफल नै नगरी शेयर बिक्री प्रक्रिया अघि बढाएकोमा आपत्ति रहेको शेयर सदस्यहरूले बताएका छन् ।

एनएमसीको शेयर बिक्री गर्ने विषयमा हाल शेयरधनीहरुबीचमा नै विवाद छ । ५० शेयर सदस्यमध्ये अधिकांश विदेशमा छन् । डा. भोला रिजालले यता शेयर बिक्रीको सम्झौता गरिसकेका छन् । तर, डा. रिजाल भने शेयर बिक्री सम्झौता नभएको प्रतिक्रिया दिन्छन् ।

गत शुक्रबार नेशनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसरुद्दिन अन्सारीलाई ४९ प्रतिशत शेयर दिने भन्दै सम्झौता गरेपछि अहिले कसको कति शेयर बिक्री गर्ने भन्ने नै अन्योल देखिएको छ । बहुमत शेयरधनीका रुपमा बसरुद्दिन अन्सारीको आगमन हुँदा पुराना धेरै सञ्चालक एनएमसीबाट बाहिरिने अनुमान गरिए पनि त्यस्तो सम्भावना कम देखिन्छ । अहिले एनएमससीको शेयरधनी रहेका सातजनाले आफ्नो सबै शेयर बेचेर पूर्णरूपमा बाहिरिन चाहेको बुझिएको छ । विशेषगरी मेडिकल पृष्ठभूमि नभएका सञ्चालकहरुले आफ्नो पूरै वा धेरैजसो शेयर बिक्री गर्न खोजेका हुन् ।

शतप्रतिशत शेयर बिक्री गरेर बाहिरिन खोज्नेमा पाँच संस्थापकमध्येका एक लम्बोदर न्यौपानेसहित सञ्चालक समिति सदस्य योगेश्वर पराजुली लगायत रहेको छ । अध्यक्षसमेत रहेका डा. भोला रिजालले भने आफ्नो सेयर कत्ति पनि नबेच्ने, यथावत् राख्ने बताएका छन् । परिवारको नाममा रहेको समेत गरी हाल डा. रिजालसँग एनएमसीको १४.०८ प्रतिशत शेयर छ । अन्य शेयरधनीहरुसँग भने अहिले १.६९% देखि बढीमा ७.३४% सम्मको स्वामित्व छ । डा. रिजालले ४९ प्रतिशत शेयर दिनेगरी सम्झौता गरे पनि ४९ प्रतिशत शेयर नपुग्ने देखिन्छ । कारण अन्य शेयर धनी बिक्री नगर्ने मनस्थितिमा छन् ।

४९ प्रतिशत (२४ लाख ६२ हजार पाँच सय ७४ कित्ता) शेयर एक वर्षभित्र अन्सारीले लिन लागेका हुन् । जसका लागि उनले शेयरवापत सात सयको दरले तिर्ने रकम र पँुजीगत लाभकरवापत व्यहोर्नेगरी कुल एक अर्ब ७९ करोड ७७ लाख रुपैयाँ एनएमसीमा लगानी गर्दैछन् । यो एनएमसीको झण्डै आधा स्वामित्व हो ।

केही समयअघि मेडिकल कलेज खरिदका लागि नोबल र काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, नेसनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसरुद्दिन अन्सारी र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले चासो दिएका थिए । यसमध्ये बसरुद्दिन अन्सारीले सम्झौता गर्न भ्याएका छन् ।

अर्बौँको लगानी गर्न लागेका बसरुद्दिन अन्सारी को हुन् त ?

बसरुद्दिन अन्सारी, नेसनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक हुन् । जो आफ्नै कलेजमा एबीबीएस अध्ययनरत विद्यार्थीमाथि गुण्डा लगाएर आक्रमण गर्नेदेखि बिरामीसँग चर्को शुल्क उठाउने व्यक्ति हुन् । त्यति मात्र होइन काठमाडौँको घट्टेकुलोमा रहेको काठमाडौँ नेशनल मेडिकललाई सम्बन्धन लिएर मालिक बन्न खोज्ने व्यक्ति पनि हुन् । जहाँ उनले काठमाडौँ नेशनल मेडिकल कलेज अवैध रुपमा सञ्चालन गर्दै आएका थिए ।

कलेज सञ्चालनका लागि मापदण्ड पूरा नभएको भन्दै त्रिभुवन विश्वविद्यालयद्वारा गठित ३ सदस्यीय छानविन समितिले कलेज अवैध रुपमा सञ्चालन भइरहेको पुष्टि गर्दै सम्बन्धन खारेज गरेको थियो । कहिले माओवादी त कहिले एमाले बन्दै हिँडेका अन्सारीले संविधानसभा सदस्यदेखि वीरगञ्ज महानगरपालिकाको प्रमुखसम्ममा उम्मेदवारी दिएर हारेका थिए ।

राजनीतिक जोडघटाउ गर्न माहिर अन्सारी प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र पनि हुन् । राजनीतिक पहुँचकै आधारमा काठमाडौँ नेशनल मेडिकल कलेजको सम्बन्धन लिन खोजेका अन्सारीको प्रयास पटक–पटक असफल हुँदै आएको छ । अन्सारीलाई मेडिकल क्षेत्रमा मेडिकल माफियाका रूपमा चित्रण गर्ने गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *