काठमाडौं : मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो ।
यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् । यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ ।
यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुई-दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक-एक जनाको ज्यान गएको छ ।
यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।
Leave a Reply