अविरल वर्षाका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाँउहरु बाढीको जोखिममा परेका छन । बागमती नदीमा आएको बाढीका कारण दुई सय परिवार विस्थापित भएका छन ।चुरे तथा पहाडी क्षेत्रमा भएको अविरल वर्षाले गर्दा बाग्मती, लाल बकैया नदी तथा झाँझ खोलामा पानीको सतह बढेपछि पानी रौतहटका विभिन्न गाँउमा पस्न थालेको छ ।
लाल बकैया र झाँझ खोलामा आएको बाढीका कारण सदरमुकाम गौरमा घरहरु डुबानमा परेका छन । गौरको बरहवा ताल आसपासको क्षेत्रका घर तथा सडकमा बाढीको पानी बढने क्रममा रहेको छ । गौर नगरपालिकाको वडा नं. १ र २ भन्सार क्षेत्रको बस्तीहरुमा बाढीको पानी पस्न थालेको छ । गौर चन्द्रपुर सडकखण्डको सबगढामा रहेको लच्कामा पानीको बहाव तिव्र रहेको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको १, २, ३ र ९ नम्बर वडा डुबानमा परेको छ भने राजदेवी नगरपालिकाको ९ तथा दुर्गा भगवति गाँउपालिकाको ५, ७ र ८ नम्बर वडाका घरहरुमा बाढीको पानी पसेको उपरिक्षक शाहले बताए ।
दुर्गा भगवति गाँउपालिकाको बाग्मती नदीको बाँध नजिकै भएको बस्तीका करीब दुई सय परिवार विस्थापीत भएका छन । उनीहरु बाँधमा पाल राखेर बसेका छन । गढीमाई नगरपालिकाको वडा नं। ९ सिंगारमनमा रहेको पुल र स्परमा बाढीले क्षति पुर्याइ रहेको छ ।
इशनाथ नगरपालिकाको बन्जरहामा ३० परिवार विस्थापीत भएका छन । राजदेवी नगरपालिकामा रहेको बागमती नदीको १ र २ नम्बर स्परमा कटान हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाँधको स्पर मर्मतको काम गरि रहेका छन ।
यसै गरी झाँझ खोलामा आएको बाढीले मत्सरीमा रहेको नहर फुटाए पनि सो स्थानमा पनि सुरक्षाकर्मी र स्थानीयले मर्मतको काम गरिरहेको उपरिक्षक शाहले बताए ।
सुरक्षाकर्मीको पाँच यूनिट स्थान्तरणः नेपाल प्रहरीको भन्सार सुरक्षा चौकीमा बाढी पसे पछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई नजिकैको अर्को भवनमा सारिएको छ । नेपाल प्रहरीको बसतपुर, महादेवपट्टी र भन्सारको गरी तीन वटा चौकी अर्को भवनमा स्थानान्तरण गरिएको प्रहरी उपरिक्षक सिद्धीविक्रम बताए ।पानी पर्नेक्रम रोकिएको छैन ।
Leave a Reply