चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।
भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् ।
घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी )को टोली पनि खटिएको थियो । प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।
प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।
तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । ‘अहिलेलाई घटनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उनले भने ।
जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको शव फेला परेको छ । प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।
भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् ।
Leave a Reply