पूर्वी नवलपरासी गैंडाकोटकी २१ वर्षीय युवती आठ दिनदेखि बेपत्ता

 ग्लोबल टिभि      बुधबार, असार २३, २०७८      0

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया विना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले बताएको छ। परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

तर, अहिलेसम्म विनाको अवस्था थाहा हुन नसकेको प्रहरीले बताएको छ । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने विना कँडेलसँगै बाइक चढेर घरबाट गएका उनका पिता जयेश्वर सापकोटाले बताए । उनका बुवाले छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताए ।

भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको विनाको परिवारले पनि स्वीकार गर्दै आएको छ । विना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राखेका छन् । कँडेल बवनाको घरमा आउ–जाउ गर्दथे । नौ महिना जति बेलायत बसेका ती युवक दाजुको विहेमा सहभागी हुने भन्दै बैशाखमा नेपाल आएका थिए ।

ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि विनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ । उनीहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन् । त्यहाँ युवतीको मोबाइलसमेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।

सोही दिन उनीहरुबीच खटपट भएपछि विना त्यहाँबाट हिंडेकी थिइन् । सोहीदिन ती युवकलाई छक्काएर विना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । प्रवेश र विनाको बुवाको बीचमा पटक–पटक कुराकानी भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् । प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनाको छानविन भैरहेको बताए । उनले नवलपुर प्रहरी र चितवन प्रहरीको समन्वयमा नै अनुसन्धानलाई अघि बढाइएको बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *