सरकारले अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तव्यमा भारतबाहेकका देशमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ ।
सो निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा हप्तमा दुई उडान सम्बन्धित देशका राष्ट्रिय ध्वजावाहकले गर्नेछन् । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले बुधवार र एअर इन्डियाले सोमवार गर्नेछन् ।
यस्तै नेपाल एअरलाइन्सले यूएईको दुबईमा मङ्गलवार र बिहीवार तथा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एअरलाइन्सले आइतवार, मङ्गलवार र बिहीवार उडान भर्नेछन् । फ्लाई दुबइले आइतवार, बुधवार र शुक्रवार एक÷एक उडान गर्नेछन् ।
क्यानको उडान तालिकाअनुसार कतारको दोहामा नेपाल एअरलाइन्स र कतार एअरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एअरलाइन्सलाई हप्ताको सोमवार, बुधवार र शनिवार उडान अनुमति दिइएको छ । ती एअरलाइन्सले साउदी अरेबियाको दमाममा हप्ताको चार दिन आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान गर्नेछन् । नेपाल एअरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधवार र शनिवार हप्तमा दुई उडान पाएको छ । त्यस्तै हिमालय एअरलाइन्सले बिहीवार, शुक्रवार र शनिवार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एअरलाइन्सले टर्कीको इस्तानबुलमा सोमवार, बिहीवार र शनिवार उडान गर्नेछ ।
जजिरा एअरवेजले कुवेतमा हप्ताको पाँच दिन सोमवार, मङ्गलवार, बुधवार, बिहीवार र शनिवार उडान गर्नेछ । सलाम एअरले ओमानको मस्कटमा हप्तामा तीन दिन सोमवार, बुधवार र शनिवार उडान गर्ने तालिका पाएको छ । एअर अरेबियाले आबुधाबीमा आइतवार र मङ्गलवारको उडान तालिका पाएको छ । सिङ्गापुर एअरले हरेक आइतवार काठमाण्डौ उडान गर्नेछ ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गएको वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो ।
Leave a Reply