रुपन्देहीको भैरहवामा भएको आगलागी नियन्त्रणमा आएको छ । सिद्धार्थनगर नगरपालिका–८ नारायण पथमा भएको आगो पूर्ण रुपमा नियन्त्रणमा आउन भने सकेको छैन ।
नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो। रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आएपनि अहिले आगो निभाउने काम भइरहेको छ ।
आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकल प्रयोग भएको छ भने सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागिता रहेको छ । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकल आगो निभाउन प्रयोग गरिएको छ ।
आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ। माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा निजहरुको सकुशल उद्धार गरिएको थियो। घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरी करिब ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए ।
Leave a Reply