काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङसँग भेट गरेको छ ।
भेटमा पत्रकार महासंघका पदाधिकारीहरुले सञ्चारक्षेत्रका मुद्धा मन्त्री गुरुङलाई अवगत गराएका छन् ।
भेटमा महासंघको प्रतिनिधि मण्डलले संचारमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका शुभकामना ब्यक्त गर्यो । भेटमा सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको छ । प्रतिनिधिमण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
सो अवसरमा मन्त्री गुरुङले महासंघसहितका सरोकार पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने जानकारी दिँदै महासंघले प्रस्तुत गरेका विषयप्रति आफू सकारात्मक रहेको बताए । उनले संचार क्षेत्रको हित हुने गरी संचार सम्वन्धी नीति, कानून र संरचना निर्माण गरिने वताउँदै प्रेस स्वतन्त्रताको संरक्षण र प्रर्वद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पारे ।
Leave a Reply