म्याडग्यास्करमा चार वर्षदेखि पानी नपरेपछि कीरा फट्याङ्ग्रा खानुपर्ने बाध्यता

 ग्लोबल टिभि      बिहिबार, भदौ १०, २०७८      0

म्याडग्यास्करमा म्याडग्यास्कर जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरीको सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन् ।

यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो । यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन् । उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन् ।

यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो, राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भनिन् ।

अहिले ३० हजार मानिसले पाँचौँ तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आकलन छ ।

खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको सङ्ख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ ।

यो अभूतपूर्व हो । यी मानिसहरूले जलवायु परिवर्तन गराउन त्यस्तो केही गरेका छैनन् । उनीहरू जीवाश्म इन्धन बाल्दैनन तर, पनि उनीहरूले जलवायु परिपवर्तनको आघात खप्नुपरेको छ, ठकरालले भनिन् ।

भर्खरै एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका कीराफट्याङ्ग्राहरू देखाएका थिए ।

बाली बिग्रेकाले मानिसहरू कीरा र सिउँडीको पात खान बाध्य भएका छन् ।

म यी कीरालाई सकेसम्म राम्ररी सफा गर्छु तर पानी छँदै छैन् चार सन्तान भएकी एक महिला टामारियाले भनिन् ।

मेरा बच्चा र मैले आठ महिनादेखि प्रत्येक दिन यही खाइरहेका छौँ किनभने खानका लागि अरू केही छैन अनि पानी नपरेकाले हामी रोपेको कुरा फलाउन सक्दैनौँ, उनले भनिन् ।

आज हामीसँग सिउँडीको पातबाहेक अरू खानेकुरा केही छैन सुक्खा माटोमाथि बसेकी अर्की महिला बोलले भनिन् । उनका तीन सन्तान छन् ।

उनका अनुसार भोककै कारण उनका पति केही समयअघि बिते ।

छिमेकीको पनि भोककै कारण मृत्यु भएकाले तिनका दुई बालबच्चालाई खुवाउने जिम्मा पनि आफूलाई आइपरेको उनले बताइन् । नेपाली बिबिसी सेवाबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *