दलहरु अबुझ हुँदा साह्रै गाह्रो भयो, एमसीसी जसरी पनि पास गर्छु : प्रधानमन्त्री देउवा

बालुवाटार पसेकी फातिमासँगको देउवाले एमसीसीबारे करिव एक घन्टा छलफल गरेका थिए।

 ग्लोवल टि.भी.      शनिबार, भदौ २६, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि पास गर्ने बताएका छन्।

शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग छलफलका क्रममा देउवाले यस्तो बताएका स्रोतको दाबी छ।

’यहाँका दलहरुले एमसीसीबारेमा कत्ति पनि कुरा बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयो’ स्रोतले देउवाको भनाई उदृत गर्दै भन्यो,’नेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्।
त्यहीकारण मलाई गाह्रो भएको छ।’

देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह समेत गरे।

’तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छु’।

नेपालका प्रतिपक्ष र अन्य सत्तारुढ दलका नेतासँगको छलफलपछि बालुवाटार पसेकी फातिमासँगको करिव एक घन्टा देउवाले एमसीसीबारे छलफल गरेकी थिईन्।

एमसीसी नेपाली संसदमा विचाराधीन रहेको अवस्थामा राजनीतिक दलहरुबीच सहमति कायम गराउन उपाध्यक्ष फातिमासहितको टोली बिहीबार नेपाल भ्रमणमा आएको हो।

एमसीसी प्रतिनिधिमण्डलले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेको थियो।

यस्तै शुक्रबार एमसीसीको प्रतिनिधिमण्डलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो। प्रचण्डले पनि एमसीसीलाई राष्ट्रिय सहमतिबाटै पारित गर्ने आश्वासन दिएका थिए।

यसैबीच एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणबारे शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएकी छन्।

’तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छु’ : देउवा

’अब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँ’,’अब हामीलाई ’एस, नो’ मा उत्तर दिनुस्’, फातिमा

नेपालका सत्तारुढदेखि प्रतिपक्षीसम्मका दललाई उनले एउटै भाषामा अब कुर्न नसकिने भन्दै पास गर्ने या नगर्ने उत्तर दिन आग्रह गरेकी छन्।

तर नेपाली कांग्रेसबाहेक नेपालका राजनीतिक दलहरु एमसीसीलाई यथास्थितिमा पास गर्न नहुने पक्षमा उभिएका छन्।

फातिमाले के भनिन् त देउवासँग

स्रोतका अनुसार देउवासँगको छलफलमा फातिमाले अब कुर्न सक्ने समय नरहेको भन्दै तत्कालै पास गर्न आग्रह गरेकी थिइन्।

उपाध्यक्ष फातिमा सुमारले अब अनुमोदन हुन्छ या हुँदैन भन्ने भाषामा आफूहरुलाई उत्तर चाहिएको बताएकी थिइन्।

’अब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँ’, उनले देउवासँगको छलफलमा भनिन्, ’अब हामीलाई ’एस, नो’ मा उत्तर दिनुस्।’

उनले अब अल्मलिएर बस्ने समय पनि आफूहरूसँग नभएको बताएकी थिइन्। ’अब अल्मलिएर बस्न सकिन्नँ’, उनले भनिन्, ’अब यो भन्दा बढी अलमल नहोस्।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *