तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउन व्यवसायीको माग

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरुमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरुमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरु भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए ।

होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर बिस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि बिस्तारै खुल्दै जाने बताए । उनले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकोले अब पर्यटकहरु आउने कुरामा आशावादी रहेको बताए ।

त्यस्तै रमदा इन्कोरकी मार्केटिङ म्यानेजर प्रज्ञा खनालले कोरोनाको कारण थलिएको पर्यटन क्षेत्रले अब गति लिने बताए । उनले नेपालमा आउने अधिकांश पर्यटक भारत र चीनका भएकोले भारत चीनका पर्यटकहरुका लागि सहजता प्रदान गर्नुपर्ने बताए ।

पर्यटकका लागि सहजता प्रदान गरे मात्र पनि लाखौँ पर्यटन व्यवसायीहरुको जनजीवनमा परिरहेको शंकट टर्ने भन्दै म्यानेजर खनालले पर्यटकहरुका लागि नयाँपन, नयाँ स्वाद दिलाउन आवश्यक रहेको बताए । कोरोनाका कारण डेढ वर्ष यता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने व्यवसायीहरुको माग छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *