आजदेखि काठमाडौंका विद्यालय खुल्दै, विद्यालय खोल्नु हतार नगर्न अभिभावकको माग

 ग्लोबल टिभि      आइतवार, अशोज १०, २०७८      0
file photo

आज देखि काठमाडौं महानगरपालिकाका अधिकांश विद्यालय भौतिकरूपमा नै खुल्दैछन्। आज देखि विद्यालय खोल्ने निर्णय बिहीबारनै महानगरले गरेको थियो।

कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निणर्य गरेको थियो। विद्यालय खोल्ने भएपछि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी समेत गरेको छ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निणर्य गरिएपछि विद्यार्थीहरू उत्साहित छन्।

तर, विद्यार्थी सङख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ। शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ।

तर, लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ।

स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले भने, ‘सामान्यतया सङ्क्रमण घटेको छ, तर मानिसको लापरवाहीका कारण जोखिम थप चुलिँदो छ, यस्तो अवस्थामा विद्यालय खोल्नु हुँदैन।’

उनले कम्तीमा पनि दशैँसम्म सङक्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निर्णय लिनुपर्ने बताए। कोरोना सङक्रमणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ।

यता राष्ट्रिय अभिभावक महासङ्घले भने स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले स्थानीय तहले आ–आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निर्णय भएको टिप्पणी गरेको छ।

कोरोना त्रासकै बीच केही दिनअघि कैलालीका केही विद्यालय पुनःसञ्चालनमा आए पनि अहिले बन्द गर्न थालिएको उदाहरण दिँदै संघले अहिले सहरी क्षेत्रका विद्यालय धमाधम खोलेर विद्यार्थीमा थप सङ्क्रमण बढेमा त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने बताएको हो।

संघले भन्यो,‘कोरोना महामारीको त्रास कायमै छ, वडा दशैँ आइसक्यो, धेरै विद्यार्थी र अभिभावक दशैँपछि फर्किने योजनामा गाउँमै छन, स्वास्थ्य मन्त्रालयको भनाइलाई उल्लङ्घन गर्दै विद्यालय खोल्नु थप जोखिम निम्त्याउनु हो।’

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *