काठमाडौं– विगत करिब डेढ वर्षदेखि बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण बन्द भएका सीमानाका नेपालीको चाडपर्व नजिकिएसँगै नेपाल सरकारले खोल्ने निर्णय गरेको हो ।
नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका आठवटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।
जिल्ला सदरमुकामस्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलङ्गवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बारा उद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिए ।
साथै बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका आठवटै नाका खुला गर्ने निर्णय गरिएको भए पनि आवागमनमा विभिन्न चारवटा बुँदा अनिवार्य पालना गर्नुपर्ने छ । खुला गरिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गर्ने र स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको महतोले जानकारी दिए ।
बिरामी भएर उपचार गर्न जान आउनसमेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामग्री ल्याउन आफूहरूलाई समस्या भएको त्यहाँका बासिन्दाले बताए । नेपाल–भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सीमाबाट सहजरूपमा आउनजान पाउनुपर्ने उनीहरुको माग छ ।
Leave a Reply