काठमाडौं– आज तराईलगायत अन्य केही जिल्लामा जितिया पर्व मनाइँदै छ ।
मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ ।
मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म जितिया पर्व मनाउँछन्।थारु समुदायले जितियालाई विजय अर्थात् जितका रूपमा मनाउने गर्दछन् ।
यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । सो दिनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ।
राजा शालिवहानको राज्यमा सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ।
भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गरी पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन्। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ। मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको छ।
Leave a Reply