आज विश्व मानसिक स्वास्थ्य दिवस

 ग्लोवल टि.भी.      आइतवार, अशोज २४, २०७८      0

काठमाण्डौ -आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ ।

यस वर्षको विश्व मानसिक स्वास्थ दिवसको नारा ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने तय भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ ।

कोभिड–१९ महामारीको आक्रान्तबाट बल्लतल्ल अगाडि बढ्न खोजिरहेको विश्वमा अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू थपिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् । कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका कारण मानसिक समस्याका बिरामी बढ्दै गएका मनोविश्लेषक बासु आचार्यले बताए।

एक जनाले आत्महत्या गर्दा २० जनाले आत्महत्याको प्रयास गरेका हुन्छन् । आत्महत्या गर्नेले आत्महत्या गर्नु पहिले नै धेरै सङ्केत दिन्छन् । तर त्यसलाई बुझ्न नसक्दा उसको ज्यान जाने गरेको आचार्य बताउँछन।

एक अध्ययनका अनुसार मानसिक समस्याको बेलैमा उपचार गर्न नसके सन् २०३० पछि तीन जनामध्ये एक जनालाई मनोरोग लाग्ने देखिएको छ । ज्यान गुमाउने कारक तत्वमध्ये मानसिक रोग ७ औं नम्बरमा पर्छ । मानसिक समस्या बढ्दै गएकाले यो सङ्ख्या दुई नम्बरमा पुग्ने अनुमान समेत गरिएको छ ।

मानसिक रोगीहरुले सङ्केत देखाउन थाले औषधि उपचार, परामर्शतिर लाग्नुपर्छ । मानसिक रोग लाग्नबाट बचाउने पहिलो भूमिका परिवारको हुन्छ । एक्लै बर्बराउने, टोलाउने, छाती भारी हुने, टाउको पोल्ने, निद्रा नलाग्ने जस्ता लक्षण देखिन्छन् ।

एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ ।

अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।

यस्ता प्रतिनिधि पात्र बालक जस्ता अरबौं मानिसहरू एक खित्का पनि नहाँसी अनि तनावबीच नै आफ्ना दिन अनि वर्षहरू गुजारिरहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरू त हाम्रा टोल–छिमेकमै दैनिक सुनिन्छ ।

जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरूलाई भौतिक प्राथमिक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दुर्घटनामा परेका ब्यक्तिहरूलाई तत्कालै सही मानसिक प्राथमिक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।

स्मरणरहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा ‘डिप्रेशन’का शिकार भइरहेका छन् । खुशी अनि सन्तुष्टिकासाथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो हो ।

बेलैमा उपचार पाए मानसिक रोगलाई निको पार्न सकिन्छ । नेपालमा हरेक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गए पनि यसलाई प्राथमिकतामा नराख्दा रोगीले भरपर्दो उपचार सेवा पाउन मुश्किल छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा झण्डै २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने झण्डै ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *