२७ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइँदै

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक ५, २०७८      0

काठमाडौं- यही कात्तिक ७ गतेदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ।

कात्तिक ७ र ८ गते छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ।

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।

भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले बताए।

सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका २४ लाख बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ।

सरकारले विसं २०५० बाट छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख पराजुलीले बताए।

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *