बारले प्रधानन्यायाधीशका विवादास्पद फैसला अध्ययन गर्ने

 ग्लोबल टिभि      बुधबार, मंसिर १, २०७८      0

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा जोडिएका विवादास्पद आदेश तथा फैसलाहरुको अध्ययन गर्ने भएको छ । मंगलबार राति यसबारे निर्णय गर्दै बारले त्यसका लागि देशभरबाट उजुरी, गुनासो र अरु विवरण भए नेपाल बार एशोसिएसनमा पठाउन आह्वान गरेको छ ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश जबरा संलग्न भएको इजलासबाट भएका आदेश र फैसलाहरुमाथि अध्ययन गर्ने योजना बनेको बताइन् । ‘हामीले देशभरबाट उहाँले गरेका विवादास्पद आदेश, फैसला र अन्य विवरण भए नेपाल बार एशोसिएसनमा आएर त्यसको जानकारी दिन आग्रह गर्ने निर्णय गरेका छौं,’ उपाध्यक्ष बस्यालले भनिन्, ‘विवरणहरु प्राप्त भएपछि कार्यविधि बनाएर अध्ययन गर्ने र त्यसका आधारमा थप निष्कर्ष निकाल्ने योजना बनाएका छौं ।’

जबराको नेतृत्व अस्विकार गर्ने पर्याप्त आधार र प्रमाणहरु आफूहरुसँग भएपनि उनका थप विवादास्पद आदेश र फैसलाहरु खोज्न यस्तो निर्णय भएको उनले बताइन् ।

बारका अर्का एक पदाधिकारीका अनुसार, जबरा संलग्न केही इजलासबाट भएका विवादास्पद आदेशको संवैधानिक एवं कानूनी धरालत परीक्षणका लागि कुनै विज्ञको नेतृत्वमा समिति बन्ने सम्भावना छ ।

पूर्वन्यायाधीश वा पाका कानूनविदको नेतृत्वमा गठन हुने समितिले ती आदेश र फैसलाको अध्ययन गरी त्यसलाई दस्तावेजको रुप दिनेछ । उनले भने, ‘यसक्रममा प्रधानन्यायाधीश जबराले न्यायसम्पादन बाहेकका गैरकानूनी गतिविधि गरेको विषयमा आएका विवरण पनि हामीले अध्ययन गर्ने र त्यसलाई दस्तावेज बनाउने योजना बनेको हो ।’

प्रधानन्यायाधीश जबराले न्यायालयको साख गुम्ने खालका गतिविधि गरेको भन्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले उनको राजीनामा माग्दै आन्दोलन गर्दै आएका छन् । तर प्रधानन्यायाधीश जबरा राजीनामा नदिने अडानमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *