सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेको जानकारी दिए । “मंसिरको पहिलो साताबाट सात प्रदेशका ९ अस्पतालमा यो सेवा विस्तार गरेका छौं, पछि आवश्यकता अनुसार अरू अस्पतालमा पनि थप्छौं” उनले भने ।
यसअघि इम्युनोग्लोबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र थियो । जसमा कारण उपत्यका बाहिर रहेका बिरामी सेवा लिन छुट्थे । यो बाध्यता अन्त्य गर्न नियमित कार्यक्रम मार्फत सेवा विस्तार गरिएको मन्त्री खतिवडाले बताए ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक १ सय जना रेबिज भएका बिरामी अस्पताल पुग्छन् । जसमध्ये १० देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार रेबिजबाट हुने मृत्यु जोगाउनका लागि इम्युनोग्लोबुलिन एण्टीबडी दिइन्छ । यसलाई विश्व स्वास्थ्य संगठनले अति आवश्यक औषधिको सूचीमा राखेको छ।
सरकारले २०३० सम्ममा रेबिजबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्नको लागि पनि इम्युनोग्लोबुलिन दिनु परेको डा. पौडेलले बताए । डा. पौडेलका अनुसार काठमाडौंमा १ लाखभन्दा बढी कुकुर रहेका छन् । सोही कारण कुकुरले टोकेर अस्पताल आउने मानिसहरको संख्या बढ्दो छ ।
विश्व स्वास्थ्य संगठनले रेबिज विरूद्ध कुनैपनि खोप नलगाएको र कुकुरले टोक्दा गहिरो घाउ भएकाहरूलाई इम्युनोग्लोबुलिन दिने निर्देशिका बनाएको छ । यो रेबिजविरूद्वको एण्टीबडी हो । यो जीवनमा एक पटक मात्रै दिइन्छ ।
हरेक वर्ष विश्वमा ५९ हजार जना मानिसको रेबिजबाट मृत्यु हुने गरेको तथ्याङक रहेको छ ।
अव यो सेवा प्रदेश १– कोशी अस्पताल, विराटनगर,प्रदेश २– जनकपुर अस्पताल, धनुषा,वाग्गती प्रदेश – मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान, हेटौंडा र भरतपुर अस्पताल,गण्डकी– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, लुम्बिनी– लुम्बिनी अस्पताल, बुटवल,कर्णाली– सुर्खेत अस्पताल, वीरेन्द्रनगर र सुदूरपश्चिम– सेती प्रादेशिक अस्पताल, धनगढीमा सेवा सुचारु गरीने छ ।
Leave a Reply