बजेट पुनरावलोकनको तयारीमा, प्रदेश १ सरकार

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ३, २०७८      0

पाँच दलीय गठबन्धन मिलेर बनेको प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने तयारी सुरु गरेको छ ।

तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट गठबन्धनको सरकारले मङ्सिर महिनाभित्रमा पुनरावलोकन गरी पुसदेखि कार्यान्वयनमा लैजाने तयारी अनुरूप गृहकार्य सुरु गरेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गरी प्रदेशको बजेट पुनरावलोकन गर्ने जानकारी गराए ।

अघिल्ला सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने र अनुत्पादक, बिचौलिया, कार्यकर्ता पोस्ने र चुनाव लक्षित खालका कार्यक्रम खारेजी गरेर प्रदेश सरकार अगाडि बढ्ने मन्त्री आङ्बोले जानकारी दिए ।

‘सरकारले गरेका राम्रा कामहरू र हिजोदेखि सरकारले दायित्व सिर्जना गरेर अगाडि बढाएका कामलाई हामी निरन्तरता दिन्छौं’ उनले भने, ‘हामी राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले अघि बढाएका कार्यक्रमलाई बीचैमा तुहाउने, फाल्ने वा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाउने पक्षमा छैनौं ।’

सरकारको दायित्वमा आएका र राम्रा कामलाई निरन्तरता दिने उनको भनाइ छ । अनुत्पादक क्षेत्र र व्यक्तिगत स्वार्थ केन्द्रित रहेर आएका कार्यक्रम खारेज गरिने उनले बताए । ‘समग्रमा यो बजेटको पुनरावलोकन हुन्छ’ उनले भने, ‘सरकारले आफ्ना प्राथमकिता समेटेर नयाँ कार्यक्रमलाई अगाडि बढाउने सोच बनाएको छ ।’

मङ्सिर महिनाभित्र बजेटको पुनरावलोकन गर्दै पुसबाट कार्यान्वयनमा जाने तयारी रहेको उनले बताए । ‘बजेटको आवश्यक सन्तुलन गर्ने अधिकार आर्थिक मामिला मन्त्रालयलाई दिइएको छ’ उनले भने, ‘आर्थिक कार्यविधि ऐन २०७४ लाई टेकेर बजेट पुनरावलोकन गरिनेछ ।’ अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेट ३२ अर्ब बढीको बजेट ल्याएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *