लागूऔषध गाँजा लोड गरेर भारततिर लैजाँदै गरेको अवस्थामा एउटा अटो टेम्पो र त्यसका चालकलाई सशस्त्र प्रहरीले मोरङको जहदाबाट नियन्त्रणमा लिएको छ।
सिटमुनि ‘फल्स बटन’ बनाएर लुकाईछिपाई अवैध रुपमा गाँजा निर्यात गर्दै गरेको अवस्थामा को २ ह ४२४१ नम्बरको अटो टेम्पो नियन्त्रणमा लिएर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्रले पक्राउ गरेको हो। २० किलो गाँजा जहदा गाउँपालिका–१ भुटाहाबाट बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।
प्रहरीले राईविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन सोमबार म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
एसपी पौडेलका अनुसार विशेष सूचनाका आधारमा गाँजा नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल बीओपी जहदाबाट सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। टोलीले शंकास्पद रुपमा सडकमा गुडिरहेको टेम्पोलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा फेला पारेको हो।
पक्राउ परेका राईले टेम्पोको चालक बनेर गाँजा ओसारपसार गर्ने गरेको पाइएको एसपी पौडेलको भनाइ छ।
Leave a Reply