बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रमा आज अधिवेशन गर्दै कांग्रेस

 ग्लोबल टिभि      सोमवार, मंसिर ६, २०७८      0

नेपाली कांग्रेसले आज विभिन्न जिल्लामा बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो।

यो अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुनिनेछन् भने अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन् ।

कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँछन् । तिनै महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्य हुन्छन् । बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नुपर्दैन स्वत महाधिवेशन प्रतिनिधि हुन्छन् भने वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएरै आउनुपर्ने हुन्छ ।

कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिकाअनुसार आज ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुन गइरहेको छ ।

काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रसहित देशका विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रमा आज कांग्रेसको अधिवेशन छ। कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन र मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्दै मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।

तर, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने सोमबार अधिवेशन नहुने भएको छ। तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्लाबाहेक अन्य ठाउँमा सोमबार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू सदस्य मानिन्छन् । उक्त क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार पनि अधिवेशनका सदस्य रहने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ ।

अधिवेशनले २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने छ। विधानअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले कम्तीमा चार महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिए बमोजिम निर्वाचित गर्ने विधानमा उल्लेख छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *