नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।
मङ्गलवार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले पर्सि बिहीवार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।
धर्नामा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने जानकारी दिए ।
प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको श्रेष्ठले वताए ।
न्यायपालिकाको गरिमा कायम राख्न, न्यायपालिका भ्रष्टाचारमुक्त बनाउन हामीले गरिरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नागरिक आन्दोलन, विभिन्न पेसाकर्मीसहित पर्सि बिहीवार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दैछौँ ।
बालुवाटारकै सेरोफेरोको कारणले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अहिलेसम्म लुकेर मुसाको दुलोमा पसेजस्तो आइराख्नुभएको छ, त्यो हटाउनका लागि अभियान सञ्चालन गर्न नागरिकको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने प्रस्ताव आइरहेको छ श्रेष्ठले भने ।
आन्दोलनकै कार्यक्रम अन्तर्गत बुधवार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गरीएको छ ।
Leave a Reply