लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि

नेपालले अनुमोदन गरेका महिलामैत्री प्रावधानको कार्यान्वयनमा सरकार र नागरिकको संयुक्त प्रयासको आवश्यकता

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ९, २०७८      0

विमला ढकाल –

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदै छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । यसैबीच, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समानतामा आधारित, न्यायपूर्ण, सभ्य र सम्मुनत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन शुभकामना दिएकी छन् ।

देशै भरि लैगिक हिंसा बिरुद्धको अभियान सुरु भइरहँदा हिंसाका घटनाहरु पनि सार्वजनिक भैरहेका छन् । महिलाहरु बलत्कार, बहुबिवाह, मानव बेचबिखन, घरेलु हिंसा, बाल यौनदुराचार, लगायतका हिंसाका घटनाका शिकार भैरहेका छन् ।
हिंसा पीडितको न्याय र पीडकको कारवाहीको लागि कानूनी ब्यवस्था भएपनि बिभिन्न स्वरुपमा लैंगिक हिंसाका घटना घटिरहेको सन्दर्भमा हिंसा रोकथाममा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन जरुरी छ ।

लैंगिक हिंसा लिङ्कका आधारमा गरिने हिंसा हो । महिला, पुरुष, तेश्रो लिङ्की भएकै कारण हुने हिंसा लैंगिक हिंसा हो । लैंगिक हिंसा कानूनी अपराध हो ।
हिंसा ब्यक्तिको इच्छा बिरुद्धको शारिरीक तथा मानसिक पीडा दिने कार्य हो । लैगिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हाम्रो जनविजिव्रोमा लैंगिक हिंशा भन्ने बित्तिकै महिला हिंसा भन्ने आउछ ।

महिला हिंसा भन्नाले महिला भएकै कारण महिला माथी हुने सामाजिक, साँस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालार्ई बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाति समुदाय र वर्गहरू, ग्रामिण तहदेखि सहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन् ।

बिश्वमा यस्तो कुनै दिन छैन होला जुन दिन मानव त्यसमा पनि महिलाहरु कुनै न कुनै हिसावले हिंसामा नपरेका हुन । आजको एक्काईसौ शताब्दीमा पनि परापूर्वकालदेखि चलि आएका रुढिवादी सोच, गलत परम्परा, बिभेद लगायतका कारण महिलाहरु हिंसामा पर्ने क्रम रोकिएको छै्रन ।
यहि कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि महिला लैंगिक बिरुद्धको अभियान संचालनमा ल्याइएको हो ।

के हो लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान :

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ लैंगिक हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा यो अभियान विश्वका अधिकांश देशहरुमा मनाउने गरिन्छ ।
यस अभियानको सुरु सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको थियो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यति बेला महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनैतिक बन्दी र राजनैतिक हिंसा सम्मका बहसले स्थान पाएका थिए । यद्यपी हालसम्म पनि यस बहसले निरन्तरता पाइरहेको छ ।

नोभेम्बर २५ लाई महिला माथि हुने हिंसा विरुद्धको दिवसको रुपमा मनाउनुको पछाडी यसको छुट्टै इतिहास छ । यसको सन्दर्भ डोमिनिकल गणराज्यका एकै परिवारका ३ दिदी बहिनीहरुको हत्यासँग जोडीएको छ । मिरावल परिवारमा जन्मीएका ३ दिदि बहिनी राजनितिक कार्यकर्ता थिए ।

तत्कालिन त्रुजिलो तानाशाहि सरकारले सन १९६० मा उनिहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनितिक हिंसाको प्रतिरुप मानिन्छ ।
सन १९२४ मा पेट्रिय १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो । यी तिनै जना दिदि बहिनीहरु आफनो मुलुकमा शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए ।

अन्याय नसहने स्वभावका यी दिदी बहिनी तत्कालिन त्रिजिलो तानाशाहीका विरुद्धमा थिए । तत्कालिन सरकारले ति तिनै दिदी बहिनी र उनको परिवालाई राजद्रोहको आरोप लगाईएको थियो । उनीहरु पटक पटक जेल परेका थिए ।

यसै क्रममा सन १९३७ मा निरकुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उदेश्यले डोमीनिकनको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन बेलामा पेट्रीय, मिनर्भा र मरिया तिनै जनाले सम्बोधन गर्ने कार्यक्रम थियो ।

राज्यको हस्तक्षेपको कारण उक्त कार्यक्रम सफल हुन सकेन र पक्राउ परेका थिए । १९६० को शुरुवातमा त्यहाँको सरकारले उनीहरुलाई राजद्रोहिका रुपमा घोषणा गरयो । यसरी घोषणा गरेको ११ महिना पछि नोभेम्बर २५ का दिन उनीहरुको हत्या भएको थियो ।

उक्त हत्या पछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक बर्षमा नै तानाशाहि त्रुजिलो सरकारको अन्त्य भयो । ति तिन दिदी बहिनीहरुको हत्यालाई महिला माथि हुने हिंसाका रुपमा लिईयो र उनीहरुको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तराष्ट्रिय जगतमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालीयो ।

नेपालमा जुनसुकै वर्ग, जातजाति, सस्कृति र राजनितिमा संलग्न महिला उपर महिला विरुद्धको हिंसा हुने गर्दछ । महिला विरुद्धको हिंसा मुख्यत लैङ्गिक भिन्नताका कारणले हुने गरेको छ । अधिकाशं महिलाहरु पुरुषबाट प्रताडित हुन्छन ।

नेपालमा विद्यमान सामाजिक, राजनितिक, आर्थिक तथा सांस्कृतिक संस्कारका कारण महिलाले बलत्कार, यौन दुरव्यवहार, बालबिवाह, बहुबिवाह, कुप्रथाजन्य वादि,देउकी, छाउपडि, झुमा, बोक्सी आदिबाट पिडीत हुन परेको अवस्था छ ।

यसरी महिला विरुद्ध हुने यस्ता हिंसाले देशव्यापी रुपमा जडा गाडेको छ । यस बाहेक महिलाहरु आर्थिक, सामाजिक, सास्कृतिक, राजैतिक लगायतका बिभिन्न स्वरुपमा हिंसामा पर्ने गरेको पाइन्छ ।

नेपालमा १६ दिने अभियान विशेष गरि १९९७ देखि विविध कार्यक्रमहरुको आयोजना गरि मनाउन थालिएको हो । सन २००६ मा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघिय महासन्धी १९८९ को इन्छाधिन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियान रहेको र सन २००८ मा महिला माथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानुन पारित गर्ने विषयमा अभियान केन्द्रीत थियो ।

फौजदारी र मुलुकि अपराध संहिता लागु भै ति संहितामा उल्लेखिक कानूनी ब्यवस्थाले महिला हिंसाको रोकथाम र पीडितको न्यायको ब्यवस्था गरेको गरेको भए पनि हिंसाका घटनाले निरन्तरता पाइरहेका छन् ।
सन १९९७ देखि अहिले सम्म आइपुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्ध व्यापक आवाज उठेका छन् । यो अभियानले महिला माथि हुने हिंसाका विरुद्ध खुलेर आवाजहरु बुलन्द हुन थालेका छन् । घर भित्र हुने हिंसालाई घर भित्र मात्र सिमित राख्न हुदैन भन्ने मान्यता विस्तारै स्थापित हुदै एको छ ।
महिला हिंसाबाट पीडितहरुलाई उद्दार तथा सहयोग गर्ने सरकारी निकाय र महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरु विच समन्वय र सहकार्यको संस्कृति अगाडी बढ्दै गएको छ ।

पीडितलाई न्याय दिलाउने सवालमा पनि सरोकारवालाहरु सकारात्मक बन्दै गएको अवस्था छ ।
लिंगका आधारमा महिला उपर हुने हिंसाको अन्त्यको् लागि पहिले आफैबाट सुरुवात गरि अरु सरोकारवाला निकायलाई पनि जिम्मेवार र दायित्व वहन गराउन सकेमा लैंगिक हिंसाका घटनामा निश्चय नै कमि आउने छन् ।

महिला विरुद्ध हुने हिंसा कुनै पनि अवस्था तथा परिस्थितिमा स्वीकार्य हुनेछैन, हिंसामुक्त घरपरिवार तथा समाज निर्माण गर्न चुनौती छ तर यो सम्भव तथा अत्यावश्यक छ, लिंगका आधारमा मानव बिरुद्ध हुने हिंसाको रोकथाम गर्नु प्रत्येक व्यक्तीको जिम्मेवारी हो’ भन्ने जस्ता नारालाई साकार पार्न जरुरी छ ।
यसका लागि हाम्रा धेरै समस्याको जड गरिबी र विपन्नतालाई पराजित गर्दै सभ्य समाज स्थापना गर्न महिलाविरुद्ध हुने सबै प्रकारका विभेद समाप्त गर्नुछ । संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेका महिलामैत्री सबै अन्तर्राष्ट्रिय प्रावधानको कार्यान्वयनमा सरकार र नागरिकले संयुक्त पहल गर्नुपर्ने आवश्यक छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *