काठमाडौँ – सोलुखुम्बु र रामेछापको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामा काम गर्ने बर्दियाका ४७ जना मजदुरमा कोरोना पोजिटिभ देखिएको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकु्ण्ड गाउँपालिकाको सिमाना भएर बग्ने लिखु खोलामा पाँचवटा जलविद्युतय परियोजना निर्माणाधीन छन् । त्यसमध्ये ‘लिखु–१, २ र ए’मा व्यावसायिक घराना दुगड ग्रुपको लगानी छ । करिब २१ अर्ब लगानीमा निर्माण भइराखेको तीनवटै परियोजनाको निर्माण कार्य एक वर्षमा सकिँदैछ । तीन वटै परियोजनामा १५ किलोमिटर सुरुङमार्ग छ । त्यसमध्ये १२ किलोमिटर खन्ने काम सकिएको छ ।
केही दिनअघि ठेकेदारमार्फत आएका ती मजदुरको किन्जामा पीसीआर परीक्षण गर्दा कोराना पोजेटिभ देखिएको हो । मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले रिपोर्ट पोजेटिभ देखिनासाथ कम्पनीले सिधै बर्दिया पठाएको आरोप लगाउनुभयो । आफ्नो गाउँपालिकाका बासिन्दालाई कम्पनीकै क्वारेन्टाइनमा नराखी रातारात बर्दिया पठाएको भन्दै क्षेत्रीले यसको जिम्मा हाइड्रोपावर कम्पनीले लिनुपर्ने बताउनु भयो । उनीहरूलाई त्यहाँ कोरोना चेक गर्दा पनि सबैलाई पोजेटिभ देखाएको पनि उहाँले बताउनुभयो ।
यता स्थानीय बासिन्दाले पनि महामारीको बेलामा पनि कम्पनीले खासै वास्ता नगरेको आरोप लगाएका छन् । नेपालमा दिनानुदिन कोरोणा संक्रमित बढिरहेको बेला कम्पनीले वेवास्ता गरेको भन्दै स्थानियले आक्रोश पोखेका हुन् ।
निर्माणाधीन हाइड्रोपावरमा लिखुपिके तथा उमाकुण्डका स्थानीयसमेत काम गर्दै आइरहेका छन् । उनीहरुकै माध्यमबाट संक्रमण समुदायमा फैलिनसक्नेमा कम्पनी र गाउँपालिका गम्भीर नभएको पाइएको छ ।
स्थानीय बासिन्दाले पनि परियोजनाले आफूहरुका अन्य समस्या समाधानमा चासो नदिएको गुनासो गर्दै आएका छन् । आयोजनाबाट उत्पादन हुने विद्युतबाट पाँच मेगावाट स्थानीयलाई वितरण गर्नुपर्ने र प्रत्येक प्रभावित घरधुरीलाई कम्तीमा पनि दुई सय कित्ता शेयर निःशुल्क दिनुपर्ने माग स्थानीयको छ ।
Leave a Reply