ग्लोबल टेलिजिभनको परीक्षण प्रसारण शुरु,नयाँ र फरक ढंगले छिट्टै पूर्ण प्रसारणमा आउने प्रतिवद्वता

 ग्लोबल टिभि      मङ्लबार, पुस २१, २०७७      0

काठमाण्डौं । कालिञ्चोक टेलिभिजन नेटवर्कद्वारा सञ्चालित ग्लोबल टेलिभिजन एचडीले परीक्षण प्रसारण शुरु गरेको छ ।
सोमवार रातिदेखि परीक्षण प्रसारण शुरु गरिएको टेलिभिजनले जनाएको छ ।
अत्याधुनिक प्रविधि सहित उच्च गुणस्तरीय प्रसारणलाई प्राथमिकता दिइएको टेलिभिजनका अध्यक्ष सुरेश काफ्लेले जानकारी दिए । समाचार, समाचारमूलक कार्यक्रम र अन्य प्रसारण सामग्रीमा देश, जनता, राष्ट्रहित, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, धार्मिक आस्थामा आँच आउने कुरामा कुनै सम्झौता नगरिने पनि अध्यक्ष काफ्लेले जानकारी दिए ।
काठमाण्डौं धुम्वाराहीमा केन्द्रीय कार्यालय रहेको टेलिभिजनले सातबटै प्रदेश सरदरमुकाम र मुख्य शहरी क्षेत्रलाई केन्द्रीत गरि जनचासो, जनजिवीका र जनसरोकारका बिषयमा प्रत्यक्ष प्रसारण मार्फत समाचार, समाचारमूलक कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्ने योजनाका साथ अघि बढेको पनि अध्यक्ष काफ्लेले जानकारी दिए ।
टेलिभिजनका निर्देशक एवं प्रधान सम्पादक जीवन काफ्लेले समाचार र समाचारमूलक कार्यक्रमहरु अन्य टेलिभिजन भन्दा पृथक ढंगले दर्शकको रुची अनुसार प्रसारण गर्ने गरि गृहकार्य भैरहेको पनि जानकारी दिए ।
टेलिभिजनका निर्देशक एवं प्रशासन प्रमुख प्रकाश भण्डारीले कर्मचारीको सेवा, सुविधा,सरकारले तोकेको मापदण्डलाई आधार मानेर पूर्ण ब्यवसायिक संस्थाको रुपमा टेलिभिजनलाई लैजाने प्रतिबद्धता ब्यक्त गरे ।
छिट्टै २४सै घण्टा पूर्ण प्रसारणमा जाने गरि काम अघि बढिरहेको पनि टेलिभिजनले जनाएको छ ।
टेलिभिजनले आम दर्शक, शुभेच्छुक, बिज्ञापनदाताहरुको माया र सद्भाव सँधै पाइरहने बिश्वास पनि ब्यक्त गरेको छ । एक दुइ दिन भित्र देशभरिका केवल टेलिभिजन मार्फत परीक्षण प्रसारण हेर्न सकिने पनि टेलिभिजनले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *