पर्यटनमन्त्री मन्त्री आलेले राम्रो गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।
नारायणहिटी दरबार संग्रहालय परिसरमा निजी व्यवसायीलाई भाडामा दिएर रेस्टुरेन्ट व्यवसाय चलाउन खोज्दा पर्यटनमन्त्री प्रेम आलेले रोक लगाएको प्रर्ति प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् ।
ऐतिहासिक महत्वको दरबार संग्रहालयभित्रै व्यवसाय चलाउने तयारी भइरहेको समाचार बाहिरिएपछि सर्वत्र आलोचना भएको थियो । पूर्ववर्ती सरकारमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा उक्त जग्गा भाडामा दिने सम्झौता भएको बताइन्छ ।
यद्यपि पूर्वमन्त्री भट्टराईले यसमा आफ्नो संलग्नता नरहेको बताएका छन् । यसरी दरबार परिसरभित्रै व्यवसाय सञ्चालन गर्न लागेको थाहा पाएपछि वर्तमान पर्यटनमन्त्री आलेले उक्त निर्णय कार्यान्वयन गर्न रोक लगाएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिएको मन्त्री आलेले बताए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री आलेले धेरै राम्रो निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले उनको प्रशंसा गरेको बताइएको छ । ‘नारायणहिटी दरबार संहग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउने निर्णय रोकेर राम्रो गर्नुभो’ भन्दै प्रधानमन्त्रीले पर्यटनमन्त्रीलाई धन्यवाद दिएका हुन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको थियो ।
Leave a Reply