माघ ९
गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणलगायतबारे जानकारी लिएका छन्
उनले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्ला कैलाली, रूपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री खाँणले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सित लहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाँणले बोर्डरमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए ।
गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले परीक्षणका क्रममा पोजिटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाँणले जानकारी लिएको बताए ।
‘घरमै आइसोलेसनमा बस्न चाहने संक्रमितलाई घरसम्म पुर्याउन गरिएको व्यवस्थाबारे जानकारी लिनुभयो । उहाँले संक्रमितलाई सहज रूपले घरसम्म पुर्याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टिजेन परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो,’ प्रजिअ दाहालले भने ।
झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए ।
Leave a Reply