जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन कालापत्थरमा १२ दिनको पदयात्रा

 ग्लोबल टिभि           0

माघ १०
जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा गर्ने भएका छन् ।

आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न विधाका प्रतिष्ठित २७ महिलाले काठमाडौँदेखि कालापत्थरसम्म झण्डै १२ दिनको पदयात्रा गर्न लागेका हुन ।

‘साथसाथै’ नामक संस्थाको संयोजनमा हुन लागेको सो पदयात्राको मुख्य उद्देश्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले परेको असर विश्वसामु उजागर गर्न र त्यसले महिलामा उत्पन्न गरेको समस्याको न्यायका लागि वकालत गर्ने रहेको छ । साथै जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढेको, जलवायु अनुकूलन र जलवायु परिवर्तनबारे महिलालाई सचेतना जगाउने लगायत उद्देश्य रहेको छ ।

समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्ने र त्यहीँबाट जलवायु परिवर्तनका असरले महिलामा पारेका असरको उजागर गर्ने तथा त्यस्ता मुद्दाको राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा ध्यानाकर्षण गराइने ‘साथसाथै’ का कार्यक्रम संयोजक प्रजिता कार्कीले जानकारी दिइन् । ‘त्यहीँबाट नेतृत्वको झण्डा बोकेर सबै प्रकारका विभेदविरुद्ध चेतना फैलाउने र शान्तिपूर्ण र समृद्ध समाजको प्रवद्र्धन गर्ने अभियानमा जुट्छौँ’, उनले भनिन् ।

स्थानीय महिलासँग सहकार्य गर्ने र कालापत्थरको उचाइबाट जलवायु परिवर्तन प्रभावित महिलाको आवाज उठाएर विश्वलाई सन्देश दिने अयिभानको उद्देश्य रहेको उनले बताइन्

पछिल्लो अध्ययनअनुसार सन् २०१० सम्मको अवधिमा हिमालमा हिउँको भण्डार झण्डै २९ प्रतिशतले घटेको र हिमतालको सङ्ख्या ११ प्रतिशतले बढेको देखिन्छ । पृथक भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित पारिस्थितिकीय क्षेत्र, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सिमान्तकृत समुदाय र न्यून क्षमताका कारण नेपाल विश्वकै सवैभन्दा सङ्कटापन्न र जोखिमयुक्त मुलुकमध्येमा पर्न गएको देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *