काठमाडौं फाल्गुन ९
प्रतिनिधिसभा बैठकमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
उनले रिट निवेदनमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, परराष्ट्र, कानुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएका छन् । त्यसैगरी सभामुख र प्रतिनिधिसभालाई पनि विपक्षी बनाइएको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । भण्डारीका अनुसार, अदालतका कर्मचारीले मंगलबारभित्र निवेदनबारे टुंगो लाग्ने बताएका छन् ।
रिट निवेदनमा डा. भण्डारीले नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउनु भनी मागदावी छ । एमसीसी सम्झौता भियना अभिसन्धि र सन्धि ऐन अनुसार सन्धिको मापदण्डमा नपर्ने भन्दै निवेदनमा सन्धिको मान्यता दिन नमिल्ने भनी आदेश हुनुपर्ने माग गरिएको छ । भण्डारीले एमसीसीसम्बन्धी अहिलेसम्म अघि बढाइएका काम बदर गर्न पनि माग गरेका छन् ।
भण्डारीले रिटमा एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने दावी गरेका छन् । ‘नेपाल सन्धि ऐन, २०४७ र विभिन्न अन्तर्राष्ट्रिय कानुन मुताबिक सन्धिको श्रेणीमा नै नपर्ने भएको हुँदा, सिंगो संवैधानिक र कानुनी संरचनालाई नै तेजोबध गर्ने प्रावधानले उक्त कम्प्याक्ट नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाधीनता प्रतिकुल रहेको‘’ निवदेनमा भनिएको छ ।
नेपालको संविधान र अन्य कानुनहरु भन्दा सम्झौताले प्राथमिकता पाउने र त्यसो भएका संविधान, कानुन र समग्र कानुनी प्रणाली नै मुकदर्शक बन्ने भन्दै निवेदनमा सम्झौताका प्रावधानलाई भियना अभिसन्धि अनुकुल बनाएर मात्रै पारित गर्न आदेशको माग गरिएको छ ।
निवेदनमा भनिएको छ, ‘सो गर्न नसकिएमा सम्झौता लागु गर्ने गराउने कार्य नगर्नु भनी उत्प्रेषण, परमादेश लगायतका आदेश जारी गरी पाउँ ।’
Leave a Reply