आज महाअष्टमी : महागौरीको पूजा आराधना गरिंदै

 ग्लोबल टिभि      शनिबार, कार्तिक ८, २०७७      0

नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप समेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ ।सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभय मुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्काे बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको देखिन्छ । यी माताको स्वरूप गोरो वर्णको छ । यिनको सबै कपडा र गरगहना पनि सेतै छन् । शिव पुराणका अनुसार महागोरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभाष भएको थियो । त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेव स्वामी पाऊँ भनी तपस्या सुरु गर्नुभयो । बाल्यकालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् । यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छु । यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो । यिनको तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गङ्गा जलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो र यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ । जो कोहीले पनि मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।आजको दिन विभिन्न शक्तिपीठका बलि पनि दिइन्छ  । सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्विक जल, चन्दन र अक्षता लगायत षोडशोपचारले गरिन्छ । त्यस्तै सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ । राजस पूजामा मदिरा चढाएर पूजा गरिन्छ भन पशुबलि पनि दिइन्छ ।उपत्यका भित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गरिन्छ भने उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजा तथा आराधना गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा आआफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् ।आजको दिन आफूले प्रयोग गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *