सरकारी लापरबाहीले खत्री परिवारको खुसी लुटियो, जनप्रतिनिधिले आश्वसन मात्रै दिए !

समस्या एकै थियो तर शक्ति हुनेको सुनियो, खत्री परिवारको सुनिएन

 ग्लोबल टिभि           0

संवेग बस्नेत,बिकास रौनियार, गुल्मी । रेसुगाँ नगरपालिका–३ स्थित रातामाटाका गिरी बहादुर खत्री पेशाले फोटोग्राफर थिए । नेपालमा फोटोग्राफी गरेर जीविकोपार्जन नभएपछि उनी केही वर्षयता बैदेशिक रोजगारमा छन् । त्यही बैदेशिक रोजगारीबाट कमाएको धेरथोर पैसा जम्मा गरी उनले केही वर्ष पहिले रातामाटामैं करिब १० रोपनी जग्गा समेत जोडन सफल भए । आफूले जोडेको सोही जग्गामा खत्रीले बस्ने बास पनि बनाए । बास बनाएर बांकी रहेको जग्गामा खेतीपाती गर्न थाले । खेतीपाती गरेर उनको परिवार पालिन थाल्यो । यता घरमा उनकी श्रीमती माया खत्री खेतीपाती गरेर परिवार पाल्दै आएकी थिइन भने उता विदेशमा आफूले दुईचार पैसा पनि कमाइरहेका थिए । दुवैको मेहनतले उनको परिवारमा विस्तारै खुसियाली छाउन थालेको थियो । तर त्यो खुसी लामो समय टिक्न सकेन् । गत वर्षको भेलले उनले विदेशमा रगत पसिना बगाएर जोडेको सम्पत्ति नै बगरमा परिणत गरिदिएपछि गिरीको परिवारको खुसी लुटिएको छ । उनको खुसी लुटिएको भने प्राकृतिक प्रकोपको कारण मात्रै नभएर सरकारी लापरबाही पनि हो । सरकारी लापरबाहीका कारण उनको उब्जाउ जमिन आज खण्डहरमा परिणत भएको छ ।

कुरा हो गएको वर्षायामको , उनको खेत माथिबाट मदनभण्डारी राजमार्ग बन्दै थियो । ठेकेदारले सडक निर्माणका लागि आवश्यक रोडा–बालुवा लगायतका निर्माण सामग्री सडकमै थुपारेको थियो । बैशाख महिनामा अचानक भारी वर्षा भयो । वर्षा पछिको भलले उक्त रोडाबालुवा सबै खत्रीको खेतमा पुरायो, खेतमा भएको अन्नवाली सबै सखाप पारिदियो । धन्य उनीहरुको बस्ने बास बच्यो अनि घरमा भएका मान्छेलाई पनि केही भएन । ज्यान त बाँच्यो तर गरी खाने खेत नै बगर भएपछि खत्रीको मन बेचैन भएको छ । गरिखाने खेत नै भलले पुरिदिएपछि उनको निद्रा हराएको छ ।

भिषण वर्षासंगै आएको भेलले खत्री परिवारको गरिखाने खेतबारी नै पुरेपछि अवलोकनका लागि जनप्रतिनिधिहरु पुगेका रहेछन् । नगरपालिकाका उपमेयर सिता भण्डारी, तीन नम्बर वडाका अध्यक्ष थम्मन बहादुर खत्रीसंगै अन्य जनप्रतिनिधि भल पसेको भोलीपल्टै खत्रीको घरमा पुगे, भलपहिरोले क्षति पुराएको खत्रीको खेत अवलोकनपछि उनीहरुले उचित क्षतिपुर्ति र राहात दिने आश्वसन दिएर फर्किए । खत्री बैदेशिक रोजगारीमा रहेका कारण घरमा उनकी श्रीमति माया थिइन । जनतिनिधिहरुको आश्वसन सुनेर मायाको मनमा केही आशा पलायो तर अहिले उनी निराश छिन् । कारण अर्को बर्षायाम सुरु हुन लागि सक्दा पनि जनप्रतिनिधिहरु र अन्य निकायबाट खत्री परिवारले एक मुठी चामल र एक पोका नुन पाएको छैन । नत क्षति पुराएको खेतलाई पुन खेतीयोग्य बनाउने प्रक्रिया सुरु भएको छ । एक पटक हैन दुई पटक होइन पटक पटक मायाले क्षतिपुर्ति र राहातका लागि नगरपालिका र वडा कार्यालयमा आग्रह गरिन तर पनि उनको आग्रह कतैबाट सुनुवाइ भएन । सवैले खाली हुन्छ भन्ने मात्रै आश्वसन त दिए तर कार्यान्वय भने कसैले गरेनन् । आफ्नो दुखेसो सुनुवाई नभएकोमा आज भोली उनी खिन्न छिन् ।

यसो त वर्षाको भेलले उनको मात्रै नभएर नगरपालिका अन्र्तगतको वडा नम्बर तीनमै पर्ने अन्य व्यक्तिहरुको खेत पनि पुरिदिएको रहेछ । खेतपुरिएका केही व्यक्तिले राहात पाए भने केहीको खेत सम्माउने काम सुरु भैसकेको रहेछ । जस्को आफ्नो मान्छे थियो, जो बोल्न सक्थे उनीहरुले राहात पाए, क्षतिपुर्ति पाउने क्रम्मा छन् तर मायाको बोली दिने कोही नभएपछि आज सम्म पनि राहात पाएकी रहिनछन् । !
उनको गुनासो सुनिसकेपछि ग्लोबल टेलिभिजन एचडीले नगरप्रमुख डिल्लीराज भुसाल र वडा अध्यक्ष थम्मन बहादुर केसी समक्ष उनको समस्या राखिदियो । नगरप्रमुख भुसालले यस बिषयमा आफूलाई जानकारी नभएको सुरुमै प्रतिक्रिया दिए । तर पछि भने उनले खत्री परिवारको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

वडा अध्यक्ष केसीले पनि खत्री परिवारको समस्या समाधानका लागि आफूले पहल गरिरहेको जानकारी दिए । छिट्टै खत्री परिवारले राहात र क्षतिपुर्ति पाउने वडा अध्यक्ष केसीको भनाइ छ ।
निर्माणाधीन राजमार्गको कारण यो वडामा क्षति पुगेका जग्गाधनीहरुका लागि क्षतिपुर्ति दिलाउनका लागि मदनभण्डारी राजमार्ग, राजमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार र जनप्रतिनिधिका बीचमा सम्झौता पनि भएको रहेछ , सम्झौताको प्रतिलिपि पीडितलाई पनि दिइएको वडा अध्यक्ष केसीले ग्लोबल टेलिभिजन एचडीलाई जानकारी दिए ।

खत्री परिवारको समस्या सुनिसकेपछि जनप्रतिनिधिहरुले क्षतिपुर्ति उपलब्ध गराउने प्रतिबद्धता त जनाएका छन् तर बिगतमा पनि यस्तै प्रतिबद्धता कयौं पटक जनाएर पनि कार्यान्वयन भएका कारण पीडित परिवार भने अझै आश्वस्त हुन सकेका छैनन् । आशा छ यो पटकको प्रतिवद्धताले ढिलै भएपनि परिणाम देखाउने छ ।
                                                        प्रस्तुतकर्ता : संवेग बस्नेत र बिकास रौनियार
                                                                                                                                                                                                           संवाददाता ग्लोबल टेलिभिजन एचडी

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *