विकास रौनियार, संवेग बस्नेत, धादिङ । बा २ ख ६१०६ नम्बरको बस दिनभर काठमाडौंको चक्रपथमा रुटमा चल्ने गथ्र्यो । दिनभर चक्रपथमा यात्रुलाई सेवा दिने यो बस जव साँझ पर्न थाल्थ्यो त्यसपछि यो बस अचानक नागढुंगा हुँदैं पृथ्वीराजमार्ग तर्फ लाग्थ्यो । रातभर पृथ्वीराजमार्गका विभिन्न स्थान पुगेपछि बिहान झिस्मिसेमै बस पुनः काठमाडौं आइपुग्थ्यो । यो क्रम निकै लामो समय चलिरह्यो । दिनभरी चक्रपथमा यात्रुलाई सेवा दिने र रातपरेपछि पृथ्वीराजमार्गमा पुग्ने यो रहस्यमयी बस यतिबेला भने प्रहरी हिरासतमा पुगेको छ ।
यो बस मात्रै नभएर बसका धनी रविन घले सहित तीन जना व्यक्ति पनि यतिबेला प्रहरी हिरासतमै छन् । आखिर यो बस, बस धनी र अन्य व्यक्तिहरु किन एकाएक प्रहरी हिरासतमा पुगे त ? यसको कहानी निकै रोचक छ ।
जव रात परेपछि पृथ्वीराजमार्गमा जाने बस र यसका धनी सहितका व्यक्तिको बिस्तारै पोल खुल्न थाल्यो र उनीहरुले गर्ने कुकर्तका विषयमा जनगुनासो प्रहरीमा आउन थाल्यो त्यसपछि इलाका प्रहरी कार्यालय धादिङ गजुरीले गहन अनुसन्धान सुरु गर्यो । प्रहरी निरीक्षक भोजराज पाण्डेको कमाण्डमा प्रहरीले अनुसन्धान तीव्र पार्यो । त्यसपछि रहस्यमयी बस र यसका धनी रातारात पृथ्वीराजमार्गमा पुग्ने गरेको रहस्य खुल्यो ।
दिनभर चक्रपथ चल्ने यो बस रातपरेपछि पृथ्वीरामार्गमा चोरीका लागि पुग्दो रहेछ । चोरी गर्ने सामाग्री पनि गाडीकै पाटपुर्जा, डिजेल र पेट्रोल नै रहेछन् । रातपरेपछि पृथ्वीराजमार्गका विभिन्न स्थानमा पुग्ने र रोकी राखेका, बिग्रेका सवारी साधनबाट डिजेल, टायर, ब्याट्री र यात्रुका समान चोरी गर्न एक गिरोहले यो बसको प्रयोग गर्दो रहेछ । राजमार्ग छेउछाउमा यस्तो खाले चोरीका घटना बढ्न थालेपछि एक कान दुईकान हुदै प्रहरी सम्म यो घटना पुग्यो । पछिल्लो समय फरक प्रकृतिको चोरीका घटना हुन थालेपछि इलाका प्रहरी कार्यालय धादिङ, गजुरी थप चनाखो भयो । त्यसपछि शंकास्पद स्थलमा प्रहरीले निगरानी बढाउन थाल्यो ।
प्रहरी अनुसन्धानकै सिलशीलामा गएको कार्तिक ३ गते पृथ्वीराजमार्ग अन्र्तगत पर्ने गजुरी गाउँपालिकाको वडा नम्बर ६ स्थित घाटबेशीमा रातको समयमा रोकी रोकेको एक सवारी साधनमा सवारी साधन मै आएका तीन व्यक्तिले चोरी गर्दै गरेको सीसीटीभी मा दृश्य कैद भएको देखियो । तर उक्त दृश्यमा चोरी गरेको स्पष्ट भएपनि चोरी गर्ने व्यक्ति र गाडीको नम्बर पहिचान हुन नसकेपछि प्रहरी निरीक्षक भोजराज पाण्डेको कमाण्डमा प्रहरीले थप निगरानी अघि बढायो ।
प्रहरी अनुसन्धानकै क्रम्मा मंसिर नौ गते घाटबेशी मै शंकास्पद गतिविधि भैरहेको स्थानीयले देखेपछि प्रहरीमा खबर पुग्यो । त्यसपछि प्रहरी घटनास्थलतर्फ लाग्यो तर प्रहरी पुग्नु अघि नै चोरी गर्ने व्यक्तिहरु बस लिएर फरार भए । पक्राउ हुन बाट जोगिन भाग्दै गरेको अवस्थामा थाक्रे गाउँपालिका २ सिम्ले भन्ने स्थानबाट बा २ ख ६१०६ नम्बरको बस र गाइघाट –९ उदयपुरका सद्धाम राइन पक्राउ परे । त्यसपछि खुल्यो पृथ्वीराजमार्गमा रातीराती पुग्ने बस र गिरोहको धन्दाको रहस्य । बस चालक राइनकै बयानका आधारमा प्रहरीले थप दुई जना पक्राउ गर्यो । पक्राृउ पर्नेमा धादिङकै सिद्धलेक गाउँपालिका ६ का रविन घले र कमल घले रहेका छन् । पक्राउ पर्ने रविन घले भने बस धनी नै रहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
पक्राउ पर्नेहरुलाई चोरी तथा डाका मुद्धामा पुरपक्षका लागि थुनामा राखिएको निरीक्षक पाण्डेको भनाइ छ । उनीहरुले चोरी गरेको सामान चोरी गर्न प्रयोग गर्ने गरेको बसमा नै प्रयोग गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुले चोरी गरेर धन कमाउने भन्दा पनि तत्कालको गर्जो टार्न चोरी गर्ने गरेको पाइएको प्रहरी निरीक्षक पाण्डेले बताए । पक्राउ परेका तीन जना विरुद्ध चोरी तथा डाँका मुद्धामा सात देखि दश वर्ष कैद सजायका माग दाबी सहित प्रहरीले मुद्धा चलाएको छ भने चोरीमा प्रयोग भएको बस पनि जफत हुने भएको छ । चोरीमा प्रयोग भएको बस काठमाडौंको एक सहकारीको नाममा रहेको र ऋणी रविन घले रहेका छन् ।
Leave a Reply