नेपालका ८ हजार मिटरभन्दा अग्ला सबै शिखर चुमिन्
जेठ १३-फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मकालु हिमालको सफल आरोहण गरेकी छन्। पत्रकार श्रेष्ठले शुक्रबार बिहान करिब १० बजेर ५० मिनेटमा संखुवासभास्थित मकालु हिमालको शिखर चुमेकी हुन्।
फोटो पत्रकार क्लबकी सदस्यसमेत रहेकी श्रेष्ठको यो आरोहण सातौं हो। साथै नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै उनले कीर्तिमान कायमसमेत गरेकी छन्।
नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु छन्। तर, चोयु भने तिब्बततिरबाट मात्रै चढिन्छ।
८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो। यो नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सवोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्दछ।
आठ हजार मिटर अग्लो हिमालमध्ये एक मकालु पृथक चारकुने पिरामिड आकारको छ। मकालु हिमालको शिखरमा पाइला टेकेसँगै एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल आरोहण गर्ने नेपाली महिला पनि उनी नै बनेकी छन्।
गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन्। एक दशक देखि फोटोपत्रकरितामा सक्रिय पुर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन्।
Leave a Reply