शान्ति स्थापनाका लागि दिवङ्गत भएका तीन नेपालीलाई राष्ट्रसङ्घीय अवार्ड

 ग्लोबल टिभि           0

जेठ १३-संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पुर्‍याएको योगदानलाई कदर गर्दै मृत्युपर्यन्त नेपाली शान्ति मिसनका तीन जनालाई ‘ड्याग हयामर्सोल्ड’ स्मृति अवार्डले सम्मान गरेको छ।

उक्त अवार्ड राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टोसले बिहीबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलाई हस्तान्तरण गरे।

‘पिस किपर्स डे’का अवसरमा बिहीबार राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा शान्ति स्थापनार्थ गत वर्ष विभिन्न मितिमा वीरगति प्राप्त गरेका नेपाल प्रहरीका उमेशकुमार मेहत्तर (सुडानमा), सैनिक पिताम्बर थापा (युनिफिल लेवनानमा) र सैनिक दीपेन्द्र बस्ती (साउथ सुडानमा) लाई उक्त अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका सैनिक सल्लाहकार जगदीश खड्काले दिएको जानकारीअनुसार हालसम्म नेपालका ८२ शान्ति सेनाले सहादत प्राप्त गरिसकेका छन्। उनका अनुसार हाल विभिन्न देशमा पाँच हजार ८०४ नेपाली राष्ट्रसंघको शान्ति मिशनमा कार्यरत छन्।

राष्ट्रसंघको सन् २००२ को साधारणसभाले मे २९ लाई राष्ट्रसंघीय शान्ति स्थापना अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने विषयलाई अनुमोदन गरेको थियो।

विश्वभर शान्ति स्थापनाका लागि जीवन उत्सर्ग गर्ने व्यक्तिको योगदानको स्मृतिमा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । राष्ट्रसंघको निलो झण्डा मुनि आवद्ध भएर शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षार्थ सन् १९४८ देखि खटिएका चार हजार शान्ति सेनाले आफ्नो ज्यान गुमाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *