जेठ २१-जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। जसको असरस्वरुप अहिले देशका केही ठाउँमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली छ। प्रदेश १ र मधेस प्रदेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज (शनिबार) दिउँसो प्रदेश १, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
Leave a Reply