बाझियो पीडित युवती र माल्भिका सुब्बाको बयान

त्यतिबेला आफू पनि मानसिक तनावमा रहेको माल्भिकाको खुलासा

 ग्लोबल टिभि      शुक्रबार, असार ३, २०७९      0

असार ३– सुन्दरी प्रतियोगितामा भएको यौन शोषण प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बयान दिएकी छिन् । उक्त घटनाका सम्बन्धमा बुझिएकी माल्भिका सुब्बाले प्रहरीसँगको बयानमा आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बताएकी हुन् ।

साथै सक्सेस पार्टीका सन्दर्भमा माल्भिका र पीडित भनिएकी युवतीको बयान बाझिएको छ । पीडित युवतीले आफू करिब २ बजे एभरेष्ट होटलमा पुगेको र आफू लेमोनेट खाएपछि अचेत भएको र भोलिपल्ट बिहान ५ बजे होस् खुल्दा आफूमाथि बलात्कार भइरहेको पाएको बयान दिएकी थिइन् ।

तर पीडित भनिएकी युवतीको बयानलाई खण्डन गर्ने गरी पूर्व मिस नेपाल तथा उक्त सौन्दर्य प्रतियोगिताकी कोरियोग्राफर माल्भिका सुब्बाले पीडित भनिएकी युवती सक्सेस पार्टीमा रहेको बयान दिएकी छिन् । माल्भिकाले उक्त सक्सेस पार्टीमा पीडित भनिएकी युवती पनि रहेको र सक्सेस पार्टी सकिएको करिब ३ महिनापछि मात्रै आफूलाई युवतीले फोन गरेको तर उक्त समयमा पीडित युवतीसँग कुराकानी गर्ने माहोल नमिलेको र पीडितले उनी कसरी पीडित भइन् भनेर नभनेको बयान दिएकी छिन् ।

यस्तो छ, प्रहरीसमक्ष माल्भिकाले दिएको बयानः
सन २०१४ सेप्टेम्बर २ मा भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा मैले कोरियो ग्राफरको रुपमा काम गरेको थिएँ । उक्त कार्यक्रममा आयोजक र प्रायोजक दुबै मोडल ग्लोबल भिषा कन्सल्टेन्सी रहेको थियो । उक्त कार्यक्रममा लगभग ३० जना जति सहभागी थिए । उक्त कार्यक्रमको बिजेता निशा पाठक ,उपविजेता परिवर्तित नाम २६ परिसर ४४ र सह बिजेता अर्चना पन्थी हुनुहुन्थ्यो । मिसिल संलग्न हुन आएको परिवर्तित नाम २६ परिसर ४४(क) को जाहेरी लगायतको संलग्न मिसिल कागजहरू पढी बाची सुनी ब्यहोरा अवगत भयो ।

उक्त कार्यक्रमको आयोजक भएको कारणले गर्दा मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई चिनेको थिएँ । सो कार्यक्रममा निज परिवर्तित नाम २६ परिसर ४४ पनि सहभागी भएकोले निजलाई मैले चिनेकी थिएँ । २ सेप्टेम्बर २०१४ मा आयोजित मिस ग्लोबल इन्टरनेशनल कार्यक्रमको समाप्ति पश्चात एभरेष्ट होटल, नयाँ बानेश्वरमा आयोजित सक्सेस पार्टीमा म सहभागी भएकी थिएँ । उक्त कार्यक्रमको एकिन मिति मलाई याद भएन । सो पार्टीमा परिवर्तित नाम २६ परिसर ४४ पनि सहभागी हुनुभएको थियो । उक्त सक्सेस पार्टी समाप्त भएको अन्दाजी ३ महिनापछि मलाई परिवर्तित नाम २६ परिसर ४४ ले आफ्नो व्यक्तिगत मोबाइल नम्बरबाट मैले प्रयोग गर्ने ९८४१२१८८८८८ मा कल गरी तपाईंसँग कसूरदार मनोजको बारेमा केही कुराहरू गर्नु छ भन्नु भएको थियो ।

तत्काल म पारिवारिक अवस्था तथा मेरो मानसिक तनावमा रहेकाले मैले निजलाई अहिले म तपाईंसँग कुरा गर्न अक्षम भएको कारणले गर्दा पछि कुरा गरौँला भनी जानकारी गराएको थिएँ । त्यसपश्चात निज परिवर्तित नाम २६ परिसर ४४ सँग सो विषयमा कुनै कुरा भएको थिएन । परिवर्तित नाम २६ परिसर ४४ ले सामाजिक सञ्जालमार्फत आफूलाई अन्याय भएको भिडियो सार्वजनिक गरेपछि उक्त वारदात घटनाको बारेमा जानकारी पाएँ । निज पीडितप्रति मेरो सम्पूर्ण सहानुभूति छ र मैले यो विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा बताइसकेकी छु । मैले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेको कागज पाना १ प्रिन्ट गरी यसै कागजसाथ पेश गरेकी छु ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *