पटक पटक राज्य कोषको दोहन कति हुन्छ ?

मन्त्री किन फेरिरहन्छन् ?

 ग्लोबल टिभि      सोमवार, असार १३, २०७९      0

विकास असार १३– प्रधानमन्त्री शेरबहादुरले पाचौं पटक आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका छन् । यसपटक पनि आफ्नो क्याबिनेटमा एक गैर–सांसदलाई प्रवेश गराए । दुई गैर–सांसद क्याबिनेटमा भित्र्याएका देउवाले १३ महिनामा पाँच पटक मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । पटक–पटक किन मन्त्री परिबर्तन हुन्छन् वा मन्त्रिपरिषद् बिस्तार हुन्छ । दलको भाग मिलाउन गरिएको मन्त्रिपरिषद् विस्तारले राज्यलाई कति आर्थिक भार थपिएला ?

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पाचौं पटक मन्त्रिपरिषद् बिस्तार आईतबार भएको छ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सुरुमा सिफारिस गरेका पाँच मध्ये चार मन्त्री फिर्ता बोलाएर पुनः एक राज्यमन्त्री सहित चार नयाँ मन्त्री सिफारिस गरेपछि देउवाले मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन् । सवोच्चको परमादेशले सत्ताको साँचो थामेका देउवाले सुरुमा चार मन्त्रीलाई नियुक्त गरेर प्रधनमन्त्रीको रुपमा पाचौं ईनिङ सुरु गरेका थिए । पछि देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेर दोस्रो पटक मन्त्रिपरिषद् पुर्नगठन गरे ।

देउवाले तोस्रो पटक भने करिब तीन महिना पछि मन्त्रिपरिषद्लाई पूर्नगठन मात्र गरेनन्, पूर्णता पनि दिएका थिए । एकीकृत समाजवादी, माओवादी र जसपाले मन्त्री सिफारिस ढिला गरेपछि देउवाले तीन महिना पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । त्यसबेला देउवाको चर्को आलोचना पनि भएको थियो । देउवाले चौथो पटक भने कानून मन्त्रीमा गैर सांसद् गोविन्द बन्दीलाई मन्त्री बनाएर मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए । पछिल्लो अर्थात पाँचौं पटक भने देउवाले मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ सहित गैरसांसद शेरबहादुर कुवरलाई मन्त्री र सांसद हिराचन्द्र केसीलाई राज्य मन्त्री बनाएर मन्त्रिपरिषद् पुर्नगठन गरेका हुन् । नव निर्वाचित मन्त्री तथा राज्यमन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ खाएर पदभार पनि ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले नेतृत्व सुरु गरेपछिको १३ महिनामा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार हुँदा एउटा प्रश्न भने जन्मिएको छ । यतिको विघ्न मन्त्रिपरिषद् बिस्तार जनताका लागि भएकी दलको झगडा मिलाउन वा सर्वोच्चमा परमादेशका माग गर्दै तातो घाममा लाईन बसेका दलका सांसदको पालो पुर्याउन ? नभए ६–६ महिनामा किन मन्त्री परिर्वतन हुन्छ ? काम गर्दै गरेको मन्त्रीलाई त्यहाबाट हटाएर किन अर्को मन्त्रालयमा पठाईन्छ ? असक्षम भए पदबाट हटाउने अधिकार प्रधानमन्त्रीलाई हुन्छ तर, न असक्ष भनेर देउवाले कसैलाई हटाएका छन् बरु भाग मिलाउन तिनैलाई घरी वर घरी परि डेरा सारिदिरहेका छन् । कार्यसम्पादन कम्जोर भएका मन्त्रीलाई नै उनले केहि भन्न सकिरहेका छैनन्, न हिजो तथानाम गालि र अपशव्द प्रयोग गर्दै हिड्ने मन्त्रीलाई केहि भन्न सके । बरु दलका सांसद्को पालो पुर्याउन पटक–पटक मन्त्रिपरिषद् विस्तार गरिरहेका छन्, त्यो पनि गैरसांसद्को झुण्ड भित्र्याएर ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले पनि नेकपाकालीन र एमालेकालीन गरि करिब ४२ महिना सरकार सञ्चालन गरेको थियो त्यसअबधिमा करिब १५ पटक प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए । यत्तिसम्मकी अन्तिम् पटक पुर्नगठन गरिएका मन्त्रीहरूको पद १३ दिनमा खुस्किएको थियो । ओलीलाई पार्टी पार्टीको झगडा मिलाउन पटक–पटक मन्त्रिपरिषद् पुर्नगठन गरेको आरोप नलागेको भने होइन ।

पटक–पटक मन्त्री हेरफेर हुँदा राज्यको बार्षिक करोडौं रकम खर्च भैरहेको छ । त्यतिमात्र नभएर मन्त्री नियुक्त भए पछि नयाँ साधन देखि कुर्सी पछिको तौलियासम्म नयाँ खरिद राज्यलाई भार थपिरहेको छ । त्यो कुराको विल्कुल बेबास्ता गरि सरकार प्रमुखहरू मन्त्री फेर्न उद्दत हुन्छन् । अहिले पनि त्यहि नियति देखिनुले जुन जोगि आए पनि कानै चिरेको भन्ने उखान जस्तै भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *