भएन तुईनमुक्त नेपाल, ओलीको घोषणा कागजमै सिमित

 ग्लोबल टिभि      आइतवार, असार २६, २०७९      0

कैलाश असार २६– पहिलो पटक पद सम्हाल्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए । ओली दोस्रापटक प्रधानमन्त्री समेत बनिसके । तर ७ बर्ष बितिसक्दा पनि नेपालमा तुईन बिस्थापन हुन सकेका छैनन । बरु तुइनबाट खसेर मृत्यु हुनेको संख्या थपिइरहेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको एक वर्ष पुग्न लाग्यो । गतबर्ष भारतिय सिमा सुरक्षा बलले तुईन चुडाईपछी बेपत्ता उनी अहिलेसम्म अज्ञात छन । यता बुधबारमात्रै व्यास गाउँपालिका–२, दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी पनी तुइन चुँडिँदा खसेर बेपत्ता भएका छन । महाकालीको दार्चुला क्षेत्रमा हालसम्म तुइनबाट खसेर २६ जनाले अकालमै ज्यान गुमाएका छन् । दार्चुलाको महाकाली मात्र होईन मकवानपुर राप्ती नदि, लमजुङको दोर्दी खोला तर्ने क्रममा तुइनबाट खसेर मान्छेले ज्यान गुमाईरहेका छन् । विक्रम सम्बत् २०७६÷७७ भित्र देशबाट तुइन विस्थापन गरिसक्ने योजना तत्कालीन केपी शर्मा ओली सरकारले घोषणा गरेको थियो ।

त्यसअघि २०७५ साउन १८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई पत्र पठाउँदै विभिन्न स्थानमा रहेका नदी, खोला वारपार गर्न सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका तुइनलाई झोलुंगे पुलले प्रतिस्थापन गरी तुइन निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । त्यसबाहेक पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीले २०७२ असोज २५ मा तुइन विस्थापन प्राथमिकतामा परेको भन्दै पहिलो मन्त्रिपरिषद्बाटै तुइन विस्थापन गर्ने निर्णय गरेका थिए ।

तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन विस्थापन कार्यविधि नै जारी गरेको थियो । त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्ले २०७५ भदौ २९ मा तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न तुइन दुर्घटनाबाट प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली, २०७५ ल्याएको थियो । तर तत्कालिन प्रधानमन्त्री ओलीले तुइन विस्थापन गर्ने घोषणा गरेको ७ वर्ष भइसक्यो । ओली यो बिचमा दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाए । तर तुइनबाट खसेर मानवीय क्षती हुने घटना भने वर्षेनी दोहोरिइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *