साउन १३– महोत्तरीको गौशालामा दिनदहाडै छुरा प्रहार गरेर पाँच लाख रुपैयाँ लुटिएको छ। शुक्रबार दिउँसो गौशाला नगरपालिका वडा नं. २ बाट रामगोपालपुर नगरपालिका–७ सहसौलाका ३५ वर्षीय अरुण कुमार चौधरीमाथि छुरा प्रहार गरि सो रकम लुटिएको हो।
प्र. २.०२.००४ प ३३४७ नम्बरको मोटरसाइकलमा सम्सीतर्फ गइरहेको समयमा चौधरीको बाँया तिघ्रामा छुरा प्रहार गरि घाइते बनाएर अज्ञात व्यक्तिहरूको एक समुहले सो रकम लुटेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा घरतर्फजाने क्रममा एक अपरिचित मोटरसाइकलमा रहेका तीन जनाको अपरिचित समूहले मोटरसाइकलबाट झरेर आफूमाथि चक्कू प्रहार गर्दै पाँच लाख रुपैयाँ लूटेर फरार भएको पीडित चौधरीले प्रहरीसमक्ष बयान दिएका छन।
छुरा प्रहारबाट घाइते भएका चौधरीको गौशाला पोली क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
लुटपाटमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक रन्जन मिश्रले बताएका छन्। उनले गाउँमा वैष्णवी मनि ट्रान्सफर संचालन गर्दै आएका छन्।
Leave a Reply