पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने भएकी छन् ।
मंगलबार बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मुल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको छ । पशुपति विकास कोषका अनुसार मंगलबार बेलुका ९ बजे नयाँ जलहरी स्थापना गरिएको हो । नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको कोषले जनाएको छ ।
जलहरी राख्ने उत्तम साइत मंगलबार बेलुका ९ बजेको भए पनि त्यसका लागि भइरहेको क्षमा पूजा तथा स्थापनार्थ गरिएको विशेष पूजाको समापन बुधबार हुने भएको हो । पूजामा भारतको कर्नाटकबाट आएका वेदका ज्ञाता पण्डितसहित नेपालका भट्ट तथा पण्डित गरि कुल १२१ जना पूजारी सहभागी हुनेछन् ।
राष्ट्रपति विद्या भण्डारीले क्षमा पूजाको विधिपूर्वक समापन गर्ने तथा नयाँ जलहरीसहितको पशुपतिनाथको मूल मूर्तिमा विशेष पूजा पनि गर्ने क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले जानकारी दिए ।
राष्ट्रपति भण्डारी पशुपतिमा विशेष पूजाका लागि बिहान ११ देखि १२ बजेको बीचमा पशुपति क्षेत्र जाने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलारीमाथि सुनको नयाँ जलारी राख्न राखिएको हो । १०८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १०४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।
Leave a Reply