काठमाडौ । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले विरोध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । गरिएको हो । सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनाश गरिएको भन्दै त्यसविरुद्ध आन्दोलन थालिएको अभियान्ता राजेन्द्र महर्जनले बताए ।
बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको उनीहरुको गुनासो छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर मुआब्जा र क्षतिपूर्तिबिना सरकारले घर भत्काएको उनीहरुले आरोप लगाएका छन् ।
घर भत्काउने सरकारको कामको विरोध गर्दा घरधनी तथा अभियन्ताहरुलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरुको रिहाईको माग पनि गरेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका घरधनी तथा अभियन्ता रिहाई नहुँदासम्म र विस्थापित परिवारको बारेमा न्यायिक निरुपण नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।
Leave a Reply