लिपुलेक क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु

 ग्लोबल टिभि      बिहिबार, भदौ ३०, २०७९      0

भदौ ३०– नेपाल टेलिकमले दार्चुलाको विकट क्षेत्र छाङरुमा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले बुधबार दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको हो ।

त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर फोरजी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।

फोरजी सेवाका लागि टेलिकमले दार्चुलाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्ममा इक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरुसम्म आवश्यक नेटवर्क निर्माण गरेको प्रवक्ता अधिकारीले बताए । ज्याक्ती र छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो ।

अब छाङरुमा रहेका करिव १२० घरधुरी र ७ सय जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या लाभान्वित हुन टेलिकमले जनाएको छ । योसँगै छाङरुको नजिकका क्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिंकर लगायतका क्षेत्र र सीमानासम्म फोरजीको पहुँच पुगेको छ । नेपाल टेलिकमले सञ्चालन ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिने छ । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *