वडा सदस्य नपाएकाहरु सांसद खोज्न थाले : इन्द्रबहादुर बानियाँ

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

असोज ८– नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा शनिबार आयोजित प्रथम नगर सम्मेलनमा बानियाँले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन् ।

‘संघको ११० र प्रदेशको २२० समानुपातिक सिट खारेज गरिनुपर्छ । अहिले राष्ट्रियसभा ५९ सदस्यीय छ । त्यसमा ४० जना थपेर ९९ सदस्यीय बनाउनुपर्छ । त्यसमा समानुपातिक प्रतिनिधित्व गराउँदा राम्रो हुन्छ,’ प्रदेश सभापति बानियाँले भने ।

हिजो वडामा चुनाव लड्न खोज्नेहरूले आज सांसद खोजेको भन्दै समानुपातिक निर्वाचनको औचित्य नरहेको उनले बताए । ‘हिजो वडा सदस्य र अध्यक्ष खोज्नेलाई पनि समानुपातिक चाहिएको छ । चुनाव आयो कि सबै ठाउँमा टिकट चाहिएको छ । राजनीतिमा आफ्नो मापन आफैले गर्नुपर्छ,’ बानियाँ भन्छन् ।

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्दा संघीयता बलियो हुने भन्दै व्यवस्थाप्रति जनताको आकर्षण बढ्ने उनको भनाइ छ । सभापति बानियाँले भने, ‘प्रदेश बनेको पहिचान हो । पहिचान भनेकै प्रदेश हो । राजावादी र ओलीको पार्टी प्रदेश चाहिँदैन भनिरहेको छ । हामीले संघीयतालाई बोझिलो होइन ओजिलो र बलियो बनाउनुपर्छ ।’

यस्तै उनले संघ र प्रदेश निर्वाचनमा गठबन्धन आवश्यक र अनिवार्य भएको बताए । ‘अहिले मुलुक चुनावमय भएको छ । स्थानीय निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा तालमेल गरिएको थियो । संघ र प्रदेश निर्वाचनमा गठबन्धन आवश्यक र अनिवार्य छ,’ उनले भने, ‘हिजो केपी ओलीले संविधान र यो व्यवस्थामाथि आक्रमण गरेपछि पाँच दलीय गठबन्धन बनेको हो । संविधान र व्यवस्थाको रक्षाका लागि पाँच दलबीच चुनावी तालमेल गरेर जाँदै छौं ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *