‘सत्ता गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति’

 ग्लोवल टि.भी.      सोमवार, अशोज १०, २०७९      0

असोज १०– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् । श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको स्वीकारे । उनले भने, “कुन मापदण्ड अनुसार कसरी जाने भन्नेबारे अलि लामो समय लागिरहेको छ ।”

मन्त्री श्रेष्ठले मुख्यतः संगठनात्मक शक्ति र उम्मेदवारहरुको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजेको जानकारी दिँदै १६५ संघीय निर्वाचन क्षेत्रमध्ये करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गरे । उनले भने,“बाँकी ३० पनि विस्तारै अगाडि बढ्छ । प्रादेशिक निर्वाचन क्षेत्रहरुबारे पनि कुरा भइरहेको छ । दशै अगाडी नै सबै कुरा टुंग्याएर अगाडी बढ्ने जमर्को गरेका छौं ।”

मुलुक व्यवस्था परिवर्तनसँगै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले परिवर्तनलाई अगाडी बढाउने सन्दर्भमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता, लोकतन्त्रका मुल्य र मान्यतालाई अघि बढाउन चाहने शक्तिहरु एकातिर हुन जरुरी भएकोले गठबन्धन गरिएको स्पष्ट पारे ।

नेपालमा कतिपयले गठबन्धन आवश्यक नभएको भन्ने मान्यता पनि राखिरहेका भन्दै उनले जुन देशमा समानुपातिक समावेशी ढंगले चुनावका केही अंशहरु अगाडी बढेको हुन्छ त्यस्ता देशमा गठबन्धनको बाध्यता हुने स्पष्ट पारे ।

श्रेष्ठले आगामी मंसिरमा हुने संघीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने बताए । उनले भने, “उक्त क्षेत्रबाट लामो समयदेखि मैले राजनीतिलाई अगाडि बढाउँदै आएको छु, ०५१ सालको मध्यावधिक निर्वाचनमा अत्यधिक बहुमतबाट विजयी हासिल गरेको थिएँ, त्यसपछि पनि त्यही क्षेत्रबाट प्रतिनिधित्व गरेर आवास तथा भौतिक योजना मन्त्रीको जिम्मेवारी पुरा गरें ।”

उनले आफ्नो कार्यकालमा उक्त क्षेत्रमा विकासको जनलहर सिर्जना गरेको दाबी गरे । विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उनको दाबी थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *