असोज १०– गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण भएको बताएका छन्।
जसले संविधानको पालना र संरक्षण गर्नुपर्ने हो, उसैबाट संविधानमाथि अतिक्रमण हुनु दुःखद भएको तर्क उनले गरेका छन्।
रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा मन्त्री खाणले राष्ट्रपतिको नाम नलिइ विधेयक प्रमाणित नगरेर असंवैधानिक कदम चालिएको बताए।
‘नेपाली नागरिकलाई अनागरिक बनाउनेप्रतिको उत्तरदायित्व छैन? यो संविधानमाथिको अतिक्रमण होइन, गैर संवैधानिक होइन?’, उनले प्रश्न गरे, ‘जब संविधानको पालना र संरक्षण गर्नुपर्ने पदाधिकारीबाट संविधानमा अतिक्रमण हुन्छ भने त्यो देशमा सुशासन ल्याउन कति गाह्रो होला हामीलाई?’
मन्त्री खाणले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाएर बैंक खाता खोल्न, सिमकार्ड किन्न, व्यवसाय गर्न नपाइरहेको र अवस्था विकराल भएकोले सरकारले विधेयक ल्याएको जिकिर गरे।
उनले संविधान, विधि र कानुनको पालना भएन भने मुलुकमा सुशासन हुन नसक्ने बताएका छन्।
गृहमन्त्री खाणले सबैको सहयोगले स्थानीय निर्वाचन सम्पन्न भएको भन्दै उनले अब मंसिर ४ गतेको चुनाव पनि भयरहित तरिकाले सम्पन्न हुने विश्वास व्यक्त गरे।
Leave a Reply