‘उम्मेदवारी मनोनयन सर्दैन, दुई दिन समय दिने गल्ती गर्दैनौं’

 ग्लोबल टिभि      शनिबार, अशोज २२, २०७९      0

असोज २२– निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताए ।

आयोगले ३० वैशाखको स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते तोकेको थियो । त्यस्तै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोजको २ र ३ गते समानुपातिकको बन्द सूची बुझाउने समय दिएको थियो । तर दुबै पटक दलहरुले पछिल्लो दिनको अन्तिम समयमा मात्र मनोनयन दर्ता र बन्द सूची बुझाउने काम गरेका थिए ।

‘हामीले स्थानीय तह निर्वाचनमा वैशाख ११ र १२ गते भनेर समय दियौं, राजनीतिक दलहरुले ११ गतेको १० बजे भनेको १२ गतेको ४ बजे भनेर बुझिदिनुभयो, समानुपातिकको सूची बुझाउँदा पनि ३ गते ४ बजेपछि मात्र आउनुभयो’ प्रमुख आयुक्त थपलियाले भने, ‘यो तथ्य बुझेको निर्वाचन आयोगले फेरि त्यही गर्ने धृष्टता गरेन ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय असोज २३ गते आइतबारलाई तोकिएको छ । तर देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्न आयोगलाई आग्रह गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *