कैद भुक्तान गरिरहेका भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुले समेतले गरे उम्मेदवारी दर्ता(भिडियोसहित)

यस्ता नेताहरुले कसरी गर्लान् देशको विकास ?

 ग्लोबल टिभि      सोमवार, अशोज २४, २०७९      0

अभिषेक– आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका, भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुले समेतले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा नेपाली कांग्रेस, नेकपा एमालेदेखि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसम्म रहेका छन् ।

कानुन निर्माण गर्ने थलोमा पुग्न अपराधमा मुछिएका व्यक्तिलाईसमेत दलहरूले उम्मेदवार बनाएका छन् । ठूला पार्टीदेखि साना पार्टीका नेताहरु जो अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका, भ्रष्टाचारको आरोप लागेका छन् उनीहरु पनि यो निर्वाचनमा उम्मेद्वार बनेका छन् । उनीहरुले उम्मेदवारी दिएका भएपनि व्यक्ति निर्वाचित भए स्वतः निलम्बनमा पर्ने कानुनी प्रावधान छ । यसरी कैद भुक्तान गरिरहेका, भ्रष्टाचारको आरोप लागेका नेताहरुलाई दलहरुले उम्मेद्वार बनाउनु ठूलो कमजोरी भएको राजनीतिक विश्लेषक सुदर्शन आचार्यको बिश्लेषण छ ।

यसरी उम्मेदवारी दिनेमा भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, कांग्रेसकै नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ छन् जसले आ–आफ्नो निर्वाचन क्षेत्र पुगेर आइतबार मनोनयन दर्ता गराएका छन् । भ्रष्टाचार आरोपमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका कांग्रेसकै पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएर हाल डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी दिएका छन् । ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका एमाले सिन्धुपाल्चोकका नेता डीबी तामाङ भनिने युद्धविक्रम तामाङलाई पनि उम्मेद्वार बनाइएको छ । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा मुछिएका लक्ष्मी महतोले महोत्तरी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन । यस्ता ब्यक्तिहरुलाई पार्टीले प्रसय दिदै लामो समय पार्टीमा योगदान दिएका, कुनै कसुर नलागेका ब्यक्तिलाई टिकट नदिनु दुखद् रहेको विश्लेषक आचार्यको टिप्पणी छ ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले २ वर्षसम्म भुक्तान नगरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य मानिने व्यवस्था छ । त्यस्तै ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति उम्मेदवार बन्न अयोग्य मानिने व्यवस्था छ । त्यस्तै संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य मानिन्छन। कैदमा रहेका व्यक्ति कैद बसेको अवधिभर पनि उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ । तर, त्यसलाई दलहरूले अटेर गरेर उम्मेदवार बनाएका छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *