सत्तारुढ दलका शीर्ष नेताहरूलाई लाग्यो चुनाव, बाढ्न थाले आश्वाशन

 ग्लोबल टिभि           0

विकास/गणेश- मंसिर चारको निर्वाचनका लागि दलहरूलाई यतिखेर भ्याई नभ्याई छ भोट माग्न । सत्तारुढ दलका शीर्ष नेताहरू देखि एमाले र साना दलहरूलाई पनि चुनावले छोपेको छ । चुनाव नजिकिएसँगै मतदातालाई प्रभावमा पार्न दलका नेताहरूले आश्वाशन पनि बाढ्न थालेका छन् । दलहरूले यसरी बाढेका आश्वाशनलाई मतदाताले मोहर लगाउँलान यसपटक ?

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । देउवाले देशमा प्रतिगमनको खतरा अझैपनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको पनि जिकिर गरेका छन् ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन् । उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरेका छन् । प्रचण्डले ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाएका छन् । त्यस्तै प्रचण्डले धेरै पहिलादेखि हँसिया हतौडा र रुखलाई एक बनाइसकेका हुँदा हात नकमाई वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत हाल्न मतदातालाई आग्रह पनि गरेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताउनु बताएका छन् । उनले सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताएका हुन् ।
नेपालले सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरूलाई जिताउनुपर्ने तर्क समेत गरे ।

काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ एवमं पूर्व सभामुख ओनसरी घर्ती मगर उम्मेदवार छिन् । जबकी उनको खास क्षेत्र चाहिँ रोल्पा हो । घर्ती काठमाडौं दुईकालागि टुरिष्ट उम्मेदवार हुन् । घर्तीको प्रतिस्पर्धा एमालेका उम्मेदवार मणिराम फुयालसँग पर्दै छ । सत्ता गठबन्धनका शीर्ष नेताहरू उम्मेदवारको चुनावी अभियान सुरु गर्न, उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् । त्यस्तै सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला पनि आयोजना गर्दै छ । कात्तिक ४ गते पोखराबाट सुरु गरेर संयुक्त भेला ७ गते काठमाडौंमा समापन गर्दै छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *